
नेपाल उद्योग परिसंघ र आईडिया स्टुडियो नेपालबीच उद्यमशीलता क्षेत्रमा सहकार्य गर्न समझदारी भएको छ । आज सो समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र आइडिया स्टुडियोेका अध्यक्ष डा.छिरिङ्ग लामाले हस्ताक्षर गर्नुभयो । यी दुई संस्थाबीच प्राविधिक, वैज्ञानिक, वित्तीय तथा मानव संसाधनको सहयोगबाट उद्यमशीलता तथा लगानी प्रवर्द्धनका क्षेत्रमा सहकार्य हुनेछ ।

नेपाल उद्योग परिसंघको सचिवालयमा आज आयोजित समझदारी पत्र हस्ताक्षर कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष अग्रवालले आर्थिक विकासका लागि देशमा उद्यमशीलता तथा व्यवसायिक प्रबर्द्धन गर्न सरकारसँग प्रभावकारी रुपमा काम गर्नुपर्ने खाँचो औँल्याउनुभयो । ‘ब्रेन ड्रेन’ रोक्न, उद्यमीहरुका लागि उचित वातावरण बनाउन आवश्यक रहेको भन्दै उहाँले आइडिया स्टुडियोसँगको सहकार्यले नवीन सोंच भएका युवाहरुलाई उद्यमी बन्न रचनात्मक सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल उद्योग परिसंघले अगाडि बढाइरहेको मेक इन नेपाल स्वदेशी अभियान, स्टार्टअप एवं उद्यमशीलता प्रबर्द्धन सम्बन्धी गतिविधिबारे जानकारी गराउनुहुँदै दुई संस्थाबीचको सहकार्यले यस क्षेत्रमा नवीनतम् काम हुने आशा व्यक्त गर्नुभयो ।
सोही अवसरमा आइडिया स्टुडियोका अध्यक्ष डा. लामाले नेपाल उद्योग परिसंघसँगको सहकार्यले नेपालमा उद्यमशीलता तथा लगानीका क्षेत्रहरुमा नयाँ सम्भावनाहरु खोजी गर्दै नेपालमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले देशमा केही गरौं भन्नेहरुका लागि सीप तथा नीतिगत सुधारमा काम गर्नुपर्ने र नेपाल उद्योग परिसंघसँगको सहकार्यले उद्यमशीलता एवं इनोभेसनका क्षेत्रमा थप काम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
उक्त अवसरमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्यमशीलताको क्षेत्रमा सामूहिक रुपमा नयाँ काम हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका महानिर्देशक दीपकराज जोशी, आइडिया स्टुडियोकी सदीक्षा श्रेष्ठ लगायत सहभागी हुनुहुन्थ्यो ।




