आइतबार बिहान पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको ९- एन एएनसी एटीआर-७२ हवाई जहाजमा सवार ७० जनाको शव भेटिएपनि २ जनाको अवस्था भने अझै अज्ञात रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय , कास्कीले जनाएको छ । भेटिएका मध्ये हिजो निशान्त आचार्य, संगीता शाही , डा. सुशिल श्रेष्ठ, डा. सोना दिवाकर श्रेष्ठ , रियान पौडेल, सदागत अलिमिया , लक्ष्मी पौडेल, प्रशिद्धि पौडेल , अरूण पौडेल , पूर्णकुमार गुरूङ, युकोञ्जो (कोरियन नागरिक),विजयकुमार गुरूङ , रचना काफ्ले पौडेल, रकि गुरूङ , डा. गणेश थापा , निजामती कर्मचारी लक्ष्मी परियार , रीता परियार , हरि परियार , एस्मिल गुरूङ , पूजन थापा , सिर्जना होङचेन (एयरहोष्टेज), पत्रकार त्रिभुवन पौडेल , मोहन प्रकाश श्रेष्ठ , जुरिस लेजिन (रसियन नागरिक), एलिना (रसियन नागरिक), जीवनकला गुरूङ, जमुना शर्मा , शालिकराम आचार्य डा. सुशील श्रेष्ठ र डा. सोना दिवाकर श्रेष्ठको छोरा , बन्दना सुनार , सीता गुरूङ, लोक गायिका निरा छन्त्याल, अनुषा गुरूङ, शिवकुमार गुरूङ, राजु सिंह ठकुरी , अनिल शाही, पास्कल एलेक्स मण्डल (फ्रान्स) र जहाजका पाइलट कमल के.सी. (क्याप्टेन)को सनाखत भएको र तीमध्ये पोखराका डा. गणेश थापा , पत्रकार त्रिभुवन पौडेल र सदाकत अलिमियाको शव पोष्ट मार्टम पछि हिजो परिवारलाई जिम्मा लगाएको जनाइएको छ । त्यसैगरी पहिचान भएका २१ जनाको शव पनि पोखरामै आज ८ बजेपछि पोष्टमार्टम आज परिवारलाई बुझाउने बाँकी सबै शव आज १० बजेपछि हेलिकप्टरबाट काठमाडौं लगिने जनाइएको छ । मृतकका शव आफन्तले भनेको स्थानसम्म पु-याउदा लाग्ने सबै खर्च यती एयरलाइन्सले बेहोर्ने जनाइएको छ । सो जहाज दुर्घटनामा मृत्यु भएका परिवारमा अझै रुवाबासी चलिरहेको छ । हिजो दिनभरी शव बुझ्न बसेका आफन्तहरु शव नपाएपछि निराश भ एर घर फर्केका थिए ।
उक्त जहाज दुर्घटनामा परी निधन भएकाहरुको शोकमा सरकारले हिजो राष्ट्रिय शोकको घोषणा गरी शोकको १ दिन सार्वजनिक बिदा दिएको थियो तर त्यो बिदाप्रति भने धेरैतिरबाट असन्तुष्टी प्रकट भएको थियो ।
यता सो दुर्घटनाको जाचबुझ गर्न सरकाले गठन गरेको ५ सदस्यीय जाँचबुझ आयोगले हिजोबाट आफ्नो काम थालेको बताइएको छ । दुर्घटनाग्रस्त जहाजको व्ल्याक बक्स हिजो नै भेटिएकोले सो आयोगलाई जाँचबुझ गर्न अलि सहज भएको जानकारहरु बताउछन् ।





