यही बैशाख १० गते सम्पन्न प्रतिनिधि सभा सदस्यको बारा-२, तनहुँ-१ र चितवन-२ मा सम्पन्न उपनिर्वाचनमा राजावादी विचारले मतदाताक समर्थन पाउन सकेन । यो उपनिर्वाचनमा संवैधानिक राजतन्त्रको वकालत गर्दै आएको नेपाली कांग्रेस (वी.पी.)ले भाग नलिएपनि राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतले भाग लिएका थिए तर यो उपनिर्वाचनमा उनीहरुले मतदाताको समर्थन पाउन सकेनन् । यो उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका चितवन क्षेत्र नं.२ का उम्मेद्वार जीवलाल पुरीले ३७५ , तनहुँ क्षेत्र नं.१ की उम्मेद्वार शोभा गुरुुुङले २१८ र बारा क्षेत्र नं.२ का उम्मेद्वार सोनालाल प्रसाद साह तेलीले ११९ मत पाउनुभयो ।
यस उपनिर्वाचनमा बारा क्षेत्र नं.२ का राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका उम्मेद्वार मनिफ मिया अन्सारी र हाम्रो नेपाली पार्टीका उम्मेद्वार चन्द्रप्रकाश सुबेदीले १ मत पनि पाएनन् ।
२०७९ सालमा सम्पन्न प्रतिनिधि सभा , प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा केही सफलता हासिल गरेर उत्साहित बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई यो उपनिर्वाचनबाट ठेस लागेको र राजा आउनुपर्छ भनेर अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाई लगायतलाई पनि धक्का लागेको जानकारहरु बताउछन् ।





