वरिष्ठ प्रगतिवादी साहित्यकार तथा महिला नेतृ पारिजातको नेपाली भाषा, साहित्य र कला तथा उहाँ समाजमा उत्पीडनमा परेका वर्ग र समुदायको मुक्तिको निम्ति पु-याएको योगदानको सम्झना गरिदै छ । विभिन्न स्रष्टा लगायतले उहाँप्रति श्रद्धासुमन व्यक्त गर्दै उहाँका साहित्यिक रचना र कृति लगायतका बारेमा चर्चा परिचर्चा गरेको देखिएको छ ।
वास्तविक नाम विष्णुकुमारी वाइबा भएपनि उहाँ पारिजातका नामले परिचित हुनुहुन्छ । पूर्ख्यौली थलो संखुवासभाको चैनपुर भएपनि उहाँ दार्जीलिङमा जन्मिनुभएको थियो । आफ्नो कर्मले उहाँले नेपाली साहित्यिक क्षेत्रमा निकै माथिल्लो उचाई हासिल गर्नुभएको छ । उहाँका शिरीषको फुल, अनिदो पहाडसँगै, साल्गीको बलात्कृत आँसु, मैले नजन्माएको छोरा लगायतका साहित्यिक रचना कृतिहरु प्रकाशित छन् । कथा, उपन्यास , निबन्ध लगायतका विधामा कलम चलाउनुभएकी पारिजातको ‘शिरीषको फुल’ उपन्यासले मदन पुरस्कार पाउनुका साथै यो उपन्यास स्वदेशी विश्वविद्यालय तहको पाठ्यक्रममा समावेश गरिएको छ तर पछि पारिजातले यो उपन्यास बाहेकका साहित्यिक रचना कृतिहरुलाई मात्रै आफूले आफ्नो साहित्यिक रचना मान्ने बताउनुभएको थियो ।
नेपालको कम्युनिष्ट आन्दोलनमा क्रियाशील पारिजात जीवनको उत्तरार्धमा नेकपा (एकताकेन्द्र)को महिला संगठनको नेतृत्व तहमा हुनुहुन्थ्यो । २०५० साल बैशाख ६ गते निधन भएपनि पारिजात यसबेलासम्म नेपाली साहित्यिक क्षेत्रमा चम्किरहनुभएको उहाँका शुभचिन्तकहरुको भनाइ छ । प्रेमीले धोका दिएकाले उहाँ जीवनभर विवाह नगरी बस्नुभएको कतिपय मानिसहरुले भनेको सुनिन्छ ।





