जानुका सञ्जेलको अध्यक्षतामा अ.ने.म. युनियनको बागमती प्रदेश समिति पुनर्गठन

अखिल नेपाल महिला युनियनको बागमती प्रदेश स्तरीय भेला हिजो ललितपुरमा सम्पन्न भयो । सोही युनियनकी अध्यक्ष शशिकला घिमिरेको अध्यक्षतामा सम्पन्न सो भेलाले जानुका सञ्जेलको अध्यक्षतामा अखिल नेपाल महिला युनियनको बागमती प्रदेश समिति पुनर्गठन गरेको छ । उक्त समितिको सदस्यमा सीता निरौला , रीना नगरकोटी ,मैना श्रेष्ठ , कल्पना बोखिम र रीया के.सी. रहनुभएको छ ।

सोही भेलामा मन्तव्य व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले

महिलाहरु माथि भइरहेका शोषण , दमन र उत्पीडनका घटनाहरुको बारेमा चर्चा गर्दै नेपाल कम्युनिष्ट पार्टी उत्पीडित वर्ग , लिङ्ग, क्षेत्र तथा समुदायको मुक्तिको लागि संघर्ष गरिरहेको विचार व्यक्त गर्नुभयो । उहाँले क्रान्तिकारी सिद्धान्त र विचार बोकेको नेपाल कम्युनिष्ट पार्टीलाई थप सुदृढ र सुद्धीकरण गरी नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलन थप एकताबद्ध बनाउन प्रयत्न गर्ने उद्देश्यले आउदो चैत्र २४,२५ र २६ गते धरानमा नेपाल कम्युनिष्ट पार्टीको विशेष राष्ट्रिय सम्मेलन गर्न लागेको बताउनुभयो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै अखिल नेपाल महिला युनियनकी अध्यक्ष शशिकला घिमिरेले आफूलाई ठूला भनेर भन्ने कम्युनिष्ट पार्टीहरु निकट महिला संगठनहरुले क्रान्तिकारी विचार र सिद्धान्त छाडेर लाभका पद प्राप्तीमा लिप्त भएकाले नेपाली श्रमिक महिलाहरुले दु:ख पाउनु परेको बताउदे नेपालको क्रान्तिकारी महिला आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउन अखिल नेपाल महिला युनियनले पहल र प्रयत्न गरिरहेको विचार व्यक्त गर्नुभयो । उहाँले महिलाहरुले राजनीति र आफ्नो व्यवहारलाई सन्तुलित बनाएर अगाडि बढ्नु पर्ने बताउनुभयो । सोही युनियनकी नेतृद्वय शारदा श्रेष्ठले स्वागत मन्तव्य र शोभा सञ्जेलले सञ्चालन गर्नुभएको त्यस कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्यहरु राजेश बान्तवा , कृष्णहरि भट्ट , अर्जुन कार्की र राजकुमार थापा , सोही पार्टीका केन्द्रीय सदस्य तथा पिपुल्स फोर्स,नेपालका उपाध्यक्ष निलगगन तथा उक्त पार्टीका केन्द्रीय सदस्यहरु रचना शर्मा , भवानी के.सी. र जानुका सञ्जेलले आ-आफ्नो विचार व्यक्त गर्दै बर्तमान अर्ध-सामन्ती र अर्ध-औपनिवेशिक राज्य व्यवस्थाको समूल अन्त भई आमूल परिवर्तन भएर नयाँ जनवादी राज्य व्यवस्था स्थापना भए पछि मात्रै महिला लगायतका वर्ग र समुदायको मुक्ति हुन सक्ने बताउनुभयो । कार्यक्रममा विभिन्न स्रष्टाहरुले गीत गाउने र कविता वाचन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *