ललित्पुर महानगरपालिका वडा नं.१८ को माझीदोबाटोदेखि सैंबु भञ्ज्याङसम्मको निर्माणाधिन जलबिनायक मार्गको सडकमा उडेको धुलोको कारण स्थानीयबासीहरु विरामी पर्न थालेका छन् । यो सडक निर्माण शुरु भएको ३ वर्ष बित्दापनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन , जसका कारण बर्षातको समयमा हिलो हुने र हिउँदमा धुलो उड्ने समस्याले पीडित बनेका सो सडक आसपासका स्थानीयबासीहरु यो सडक निर्माण कार्य गुणस्तरीय हुनु पर्ने र यसको निर्माण कार्य जतिसक्तो चाडो पूरा गर्नु पर्ने माग गरिरहेको छन् । यसका लागि संघर्ष गर्न स्थानीयबासी समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव राजकुमार थापाको अध्यक्षतामा स्थानीयबासीले संघर्ष समिति बनाएको छ भने यो समितिले पनि आफ्नो काम गरिरहेको बताइएको छ । । ‘ललितपुर महानगरपालिका वडा नं.१८ को जनप्रतिनिधि नेकपा (एमाले)कोतर्फबाट निर्वाचित भएपनि यो समस्याप्रति उनीहरुले वास्ता नगरेको र उल्टै कमिसनको लोभमा परेर यो सडक निर्माणमा लापर्वाही र ढिलाससस्ती गरिरहेको ठेकेदारको बचाउमा यो वडाका जनप्रतिनिधि लागेका छन्’, एक स्थानीयबासीले बताए । यो सडकको निर्माण कार्यको ठेक्का लिएको ठेकेदारले अहिलेसम्म सडकको रिटेनिग वाल पनि पूरै लगाएको छैन, बिजुलीको पोलहरु पनि सारेको छैन र खानेपानीको लाइन पनि व्यवस्थित गरेको छैन, जसले गर्दा यहाँ खानेपानी राम्रोसँग आएको छैन’, उनको भनाई छ । यातायातका साधनहरु सघन रुपमा चल्ले हुँदा हिउँदमा यो सडकमा धेरै धुलो उड्ने गरेको जानकारहरु बताउछन् ।


भैंसेपाटी चोक दुर्गन्धित
ललितपुर महानगरपालिका वडा नं.२५ मा पर्ने भैंसेपाटीचोकको फोहोर व्यवस्थित नहुँदा त्यहाँको वातावरण दुर्गन्धित हुन थालेको छ । त्यहाँ तरकारी पसल लगायतबाट निस्केको फोहोरमैला तथा पातपतिङ्गर थुप्रिदा दुर्गन्ध फैलिन थालेको छ र यो फोहोर जतिसक्तो छिटो व्यवस्थित नगरे यसबाट रोग फैलिन सक्ने जानकारहरु बताउछन् । ‘यहाँ फोहोर थुप्रिएर दुर्गन्धित हुँदापनि नेपाली कांग्रेस, नेकपा (एमाले)बाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरुले चासो नराख्नु लज्जाको विषय हो’, त्यहींका एक स्थानीयले आक्रोश व्यक्त गर्दै भने।
(ललितपुरका समाचारदाताले पठाएको समाचार ।)





