गत शनिबार दिउँसो काठमाडौंको थानकोटबाट चन्द्रागिरि डाँडातर्फ उकालो चढ्दै गरेको प्र.३-०१-२३ च ६९८५ नं.को जीप चन्द्रागिरि नगरपालिका-४, पानीघाट नजिकैको हिउँचुली पहराबाट अनियन्त्रित भएर करिव ५ सय मीटर तल खस्यो र जीप भित्र रहेका काठमाडौंको लाजिम्पाट निवासी डा.महेशकुमार गौतम, उनकी साो छोरा पियान्श गौतम तथा काठमाडौंको मैतिदेवीमा बसोबास गर्दै आएका उनका ससुरा ओमकार निधि तिवारी र सासु कल्पना तिवारीको घटस्थलमै मृत्यु भयो भने सोही दुर्घटनामा घाइते भएकी दिवंगत डा.महेशकुमार गौतमकी ठूली छोरी स्मारिका गौतमको बल्खुस्थित बयोधा हस्पिटलमा उपचारको क्रममा निधन भएको थियो । आफूहरु सवार जीपले उकालो बाटोमा पिकअप लिन नसकेपछि जीपमा ओट लगाउन जीपबाट बाहिर निस्किएकी दिवंगत डा.महेशकुमार गौतमकी पत्नी डा.सुष्टि तिवारी गौतमले जीपमा ढुङ्गा ओट लाउन नभ्याउदै एकाएक जीप सडकबाट तल खस्यो , जसलाई टुलुटुलु हेर्नू सिवाय डा.सृष्टि तिवारी गौतमका अगाडि कुनै विकल्प थिएन । सो दुर्घटनाका कारण पति, फुल जस्ता दुई छोरी, आमा र बुवा गुमाएर शोकमा रहेकी डा.सृष्टि तिवारी गौतम त्यसयता बिक्षिप्त अवस्थामा रहेको बताइएको छ ।
यो दुर्घटनाले काठमाडौं थानकोट-चन्द्रागिरि डाँडा हुदै मकवानपुरको चित्लाङ पुग्ने सडकको अवस्था कस्तो छ प्रष्टसँग देखाएको छ , जसले यो सडक सुधारको पर्खाइमा रहेको प्रष्ट देखिएको छ । थानकोट र चित्लाङ बीचको डाँडाको दुबैतिरको भित्ता खनेर बनाइएको यो सडक सुधार हुन नसक्दा यही सडक हुदै सवारी साधन लिएर थानकोट-चित्लाङ ओहोरदोहोर गर्नेहरुको मुटु त्यो सडकको यात्रा नटुङ्दिदासम्म ढुकढुक हुने गरेको यात्रीहरु बताउछन् । त्यसमा पनि चित्लाङबाट माथि चन्द्रागिरिको डाँडासम्मको यात्रामा भन्दापनि थानकोटदेखि माथिको चन्द्रागिरि डाँडासम्मको कच्ची सडकमा यात्रा गर्न निकै जोखिम रहेको छ तरपनि सो सडक त्रिभुवन लोकपथको तुलनामा निकै छोटो भएकोले यही सडकबाट सवारीमा यात्रा गर्दा त्रिभुवन लोकपथबाट यात्रा गर्दा भन्दा खर्च र समय कम लाग्ने गर्दछ ।
यो सडक बन्नु अघिसम्म मानिसहरु चित्लाङ-चन्द्रागिरि- थानकोट कच्ची बाटोबाट जखिम मोलेरै भएपनि पैदलै यात्रा गर्ने गर्थे । काठमाडौं- नौविसे हुँदै चित्लाङसम्म यात्रा गर्न ३ घण्टा जति समय लाग्ने भएकोले टिष्टुङ, पालुङ, चित्लाङ लगायतका स्थानका धेरै मानिसहरु चित्लाङ -चन्द्रागिरि-थानकोटको बाटोबाट पैदलै ओहोरदोहोर गर्ने गरेको बताइन्छ ।
यो सडकको सुधार भएर स्तरोन्नति हुन सकेमा चित्लाङ, पालुङ लगायतको विकासमा टेवा पुग्ने धेरैले विश्वास गरेका छन् । अझ कतिपयले त चित्लाङबाट थानकोटसम्म सुरुङमार्ग बन्न सकेमा काटमाडौंसँग जोडिएको चित्लाड, आलुको पकेट क्षेत्र मानिएको पालुङ, पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको दामन, टिष्टुङ लगायतका ठाउँको विकासले गति लिने बताउछन् ।





