आउदो शुक्रबारदेखि ३ दिने “सातौं नेपाल एग्रिटेक तथा नेपाल फुड एण्ड बेभरेज इण्टरनेशनल एक्स्पो” हुने भएको छ । २०८१ फाल्गुण २ ,३ र ४ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन लागेको सो एक्स्पोमा नेपाल भित्रका कृषि उद्यमी तथा ब्यवसायीका साथै विदेशी व्यवसायी एवं कम्पनीहरुको प्रदर्शनी स्टल रहने आयोजकको भनाई छ । कृषि क्षेत्रको समस्त विकासमा सघाउन मिडिया स्पेस सोलुसन्स प्रा.लि.,फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेण्टस प्रा.लि. तथा एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रा.लि.ले संयुक्त रुपमा “सातौं नेपाल एग्रिटेक इण्टरनेशनल एक्स्पो” गर्न लागेको आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । उक्त प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ- “यस प्रदर्शनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रवर्द्धकको मुख्य भुमिकाको रुपमा रहेको छ भने सहयोगी संस्थाहरुमा नेपाल गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल पोल्ट्री महासंघ, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि तथा राष्ट्रिय कृषक समुह महासंघ नेपाल रहेका छन् । नि:शुल्क प्रवेश प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु-याउने साना- साना औजार, मेशिनदेखि लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने उपकरणहरुको प्रदर्शनी गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रिकीकरणमा सहयोग पु-याउन यो प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजक कम्पनीको बिश्वास छ । सबैको लागि नि:शुल्क प्रवेशको ब्यबस्था मिलाइएको प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नवीनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ । कृषि र प्रविधिका फरक फरक स्टल समूह रहने यस प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई-भैंसीपालन, डेरी , कृषिका मेसिनरी औजार, उपकरण, भेटेनरी र खाद्य प्रविधि बारेमा जानकारी प्राप्त गर्न सकिने छ । मुख्य प्रदर्शनी स्थलमा सबै बिधाका अलग-अलग समूहका स्टल रहने छन् । एक्स्पो (मेला)मा अवलोकन गर्न आउनेले आफ्नो चाहना, आवश्यकता र चासो अनुसारको स्टलमा गएर सम्पूर्ण जानकारी लिन सक्ने गरि व्यवस्था मिलाइएको छ । यसलाई ‘प्रदर्शनी भित्रको प्रदर्शनी’ पनि भन्न सकिन्छ । यस प्रर्दशनीमा देशैभरीका अगुवा किसान दाजुभाइ तथा दिदीबहिनी , अगुवा कृषकहरु, नगरपालिका तथा गाउँपालिकाका प्रतिनिधि, नीति निर्माता, व्यवसायी, उद्यमी, व्यापारी, आयातकता, निर्यातकर्ता, सरकारी तथा गैर-सरकारी संस्थाहरु, बैंक तथा वित्तीय संस्थाहरु, अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी तथा शिक्षण संस्थाहरुको विशेष उपस्थिति हुने भएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र राष्ट्रिय कृषक समुह महासंघको विशेष पहलमा देशभरीबाट किसान दाजुभाइ तथा दिदीबहिनीहरुले प्रदर्शनीको अवलोकन गर्नुहुनेछ । यस्तै देशभरीबाट बढी भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा बिश्वास लिइएको छ ।” एक्स्पोको बारेमा बिस्तृत जानकारीका लागि तलको ठेगानामा सम्पर्क गर्न सकिने आयोजकको भनाई छ । Media Space Solutions Pvt. Ltd Kathmandu, Nepal. www.nepalagritech.com.np Tel. +977 1 5369795, +977 1 5363715Media Space Solutions Pvt. Ltd.Media Space Solutions Pvt. Ltd., New Delhi, 110019Unsubscribe – Unsubscribe Preferences |
