भैरहवा/ रुपन्देही जिल्ला सदरमुकाम भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट व्यवसायिक अन्तर्राष्ट्रिय उडान शुरु भएको छ । आज विहान ७ बजेर ८ मिनेटमा कुवेतबाट जजिरा एयरलाइन्सको एयरबस ३२० जहाज सो विमानस्थलमा अवतरण गरेको थियो । त्यस लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त विमानस्थलको उद्घाटन गर्नु भएको थियो ।
रु.२२ अर्ब ४७ करोड लागतमा निर्माण सम्पन्न भएको सो विमानस्थलमा केही दिन अगाडि नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान गरेको थियो । त्यस विमानस्थलमा जजिरा एयरलाइन्सले हप्तामा ३ वटा उडान गर्ने जनाएको छ ।
२०७१ सालमा तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाले सिलन्यास गर्नु भएको ३ हजार मीटर लामो धावन मार्ग रहेको उक्त निर्माण कार्य कोभिड १९ कारण केही ढिलो भएको थियो , जसले गर्दा विमानस्थल निर्माण लागत बढेको बताइएको छ । यो विमानस्थल सञ्चालनले भैरहवा तथा बुटवल आसपास र त्यस पश्चिमका यात्रुहरुलाई जहाजबाट विदेश जान र स्वदेश फर्किन काठमाडौं आउनै पर्ने बाध्यता हटेको छ भने मौसम लगायतका विभिन्न कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न कुनै जहाजलाई समस्या परे उसले अवतरणका लागि अब विदेशका विमानस्थल उपयोग गर्नु पर्ने बाध्यता अन्त भएको जानकारहरुको भनाई छ ।
नेपाल नागरिक उड्डयन प्राधिकयणले त्यस विमानस्थलमा व्यवसायिक उडान भर्ने जहाजलाई विमानस्थलमा शुल्कमा छुट दिने व्यवस्था गर्ने जनाएको छ । त्यस विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सुरक्षा व्यवस्था सहितको सुविधा व्यवस्थित गरिएको जनाइएको छ ।