काठमाडौं/ गए राती १२ बजेदेखि पेट्रोलियम पदार्थको पुन मुल्य बढेको नेपाल आयल निगम लि.ले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य बढेकोले स्वचालित मुल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको मुल्य बृद्धि गर्नु परेको सो निगमले जनाएको छ । भारतीय आयल कर्पोरेशनले बुधबार पठाएको मुल्य सूची अनुरुप डिजेल, पेट्रोल र मट्टिलेलमा प्रति ली.रु.५ र आन्तरिक हवाई इन्धनमा रु.१५ का दरले मुल्य बृद्धि गरिएको जनाइएको छ , जस अनुरुप पेट्रोल र डिजेलमा प्रति ली. खुद्रा मुल्य रु.१५५ , मट्टितेलमा प्रति ली. खुद्रा मुल्य रु.१३८ र आन्तरिक हवाई इन्धनमा प्रति ली. खुद्रा मुल्य रु.१५१ कायम गरिएको जनाइएको छ । यसैगरी अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति कि.ली.रु.२०० डलर बृद्धि भई प्रति कि.ली.को मुल्य १४९५ डलर कायम गरेको सो निगमको भनाई छ ।
यता पेट्रोलियम पदार्थको पुन: मुल्य बृद्धि भएसँगै ढुवानीका साधन लगायतको महशुल बढ्ने भएकोले बजार भाउ पुन: बढेर जाने निश्चित भएको छ । जसका कारण जनजीवन झन कष्टकर बढ्ने छ तर यति हुदाहुदै पनि सरकारले बजार मुल्य बढ्ने नदिन कुनै ठोस कार्य यसबेलासम्म गरेको देखिएको छैन ।
यातायातका साधनको स्वचालित भाडा दर कायम गर्न यातायात व्यवसायीको माग
पेट्रोलियम पदार्थको पटक- पटक मुल्य बृद्धि भएकोले स्वचालित भाडा दर कायम गरी यातायातका साधनको भाडा समायोजन गर्नु पर्ने यातायात व्यवसायीहरुले माग गरेका छन् । गत साउनमा यातायातका साधनको भाडा बढेको भएपनि यो बीचमा पटक-पटक पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएकोले अहिलेको भाडामा यातायातका साधन चलाउने नसकिने अवस्था आएकोले पेट्रोलियम पदार्थको मुल्य बढेको बेला यातायातका साधनको भाडा बढ्ने र पेट्रोलियम पदार्थको मुल्य घटेको बेला यातायातका साधनको भाडा घट्ने स्वचालित भाडा दरको नीति लागू गरी यातायातका साधनको भाडा समायोजन गर्नु पर्ने माग नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले गरेको छ । सो महासंघका महासचिव सरोज सिटौलाले यही चैत ७ गतेसम्म सरकारले यातायातका साधनको भाडा समायोजन नगरे यही चैत ८ गतेदेखि यातायात व्यवसायीहरुले एकतर्फी रुपमा भएपनि वैज्ञानिक भाडा दर कायम गर्ने बताउनु भएको छ ।
यता सरोकारवालाहरुले भने वैकल्पिक उपाय अवलम्वन गरी यातायातका साधनका भाडा सहित बजार भाउ बढ्न नदिने गरी कार्य गर्नु पर्ने आवश्यकता औंल्याएका छन् ।