नेपाल उद्योग परिसंघ र यूरोपियन यूनियनका पदाधिकारीबीच द्विपक्षीय व्यापार र आर्थिक सहयोग अभिवृद्धि लगायतका विषयमा छलफल भएको छ । परिसंघले युरोपेली आयोगका उप-महानिर्देशक मिरियाम फेरान, नेपालका लागि ईयूका राजदूत भेरोनिक लोरेञ्जो लगायत यूरोपियन यूनियनका विशिष्ट व्यक्तिहरूसँग दुई पक्षीय हितका विषयमा छलफल गरेको हो ।
छलफलमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपाल र युरोपियन युनियन बीचको आर्थिक र व्यवसायिक सम्बन्धका विषयमा चर्चा गर्नुहुँदै नेपालको आर्थिक विकासका लागि ईयूले आगामी दिनमा गर्न सक्ने सहयोगका क्षेत्रका विषयमा जानकारी गराउनुभयो । उहाँले युरोपेली मुलुकहरूमा सिधा उडानहरू पुन: सुचारु गराउन आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो । सुरक्षा सूचीबाट हटाई नेपालको पर्यटन क्षेत्रमा योगदान गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
सो अवसरमा नेपालका लागि ईयूका राजदूत भेरोनिक लोरेञ्जोले यूरोपियन यूनियन नेपालको आर्थिक बृद्धि र विकासको यात्रामा सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो । यो छलफलले दुवै राष्ट्रहरूबीच सहयोग र व्यापार बढाउने सम्भावनालाई उजागर गरेको उहाँको भनाइ थियो ।
छलफल मुख्यतः व्यापार सम्बन्ध सुदृढ गर्ने, नेपाली उत्पादनलाई ईयू बजारमा निर्यात क्षमता बृद्धी गर्ने, सन् २०२६ सम्ममा नेपाललाई अति कम विकसित देश (LDC) बाट विकासोन्मुख राष्ट्रमा स्तरउन्नोति गरेपछिको अवस्था, नेपालका लागि जीएसपी (जनरलाइज्ड स्किम अफ प्रिफरेन्स प्लस) स्थिति सुरक्षित गर्न युरोपियन युनियनको सहयोग, नेपालको उत्पादन र आईटी क्षेत्रको सम्भावना लगायत व्यवसायिक लाभ र आर्थिक विकासका विषयमा केन्द्रित रहेको थियो।
छलफलमा नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, पूर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्ष राजबहादुर शाह, परिसंघ महिला नेतृत्व फोरम सभापति छाया शर्मा, परिसंघका महानिर्देशक डा.घनश्याम ओझा लगायत सहभागि हुनुहुन्थ्यो ।
