२ दिवसीय प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन -२०७८ शुरु

काठमाडौं/ काठमाडौंमा शुक्रबारबाट २ दिवसीय राष्ट्रिय अर्थशास्त्री सम्मेलन-२०७८ शुरु भएको छ । नेपाली अर्थतन्त्रको समसामयिक मुद्धाहरु र समाजवाद निर्माणको कार्यदिशा माथि छलफल विषयक उक्त सम्मेलनमा विभिन्न विद्वानहरुबाट ८ वटा कार्यपत्र प्रस्तुत हुने र ती कार्यपत्र माथि गोलमेच छलफलबाट निकालेको निश्कर्ष सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको आयोजकको भनाई छ ।

नेपाल आर्थिक मञ्चको आयोजनामा शुरु भएको उक्त सम्मेलन शनिबारसम्म चल्ने बताइएको छ । सो सम्मेलनको अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले एक समारोहका बीच उद्घाटन गर्नुभयो । त्यस अवसरमा अर्थमन्त्री शर्माले राष्ट्रिय बजेट निर्माणको प्रक्रिया अगाडि बढिरहेको समयमा शुरु भएको यो सम्मेलनबाट महत्वपूर्ण सुझाव प्राप्त हुने छ भन्ने अपेक्षा व्यक्त गर्दै विश्वका महाशक्ति राष्ट्रहरु बीचको टकरावको अशर सबैतिर परेको बताउनुभयो । उहाँले जानेर या नजानेर संविधानमा उल्लेख गरिएको सार्वजनिक , निजी र सहकारीको तीन खम्बे अर्थनीतिलाई व्यवहारमा कार्यान्वयन गर्न नयाँ संस्कृतिको निर्माण गर्नु पर्ने खाँचो औंल्याउदै ग्रामीण क्षेत्रमा अवसर र चुनौति दुबै रहेकोले ग्रामीण अर्थतन्त्र सुदृढ गर्नु पर्नेमा जोड दिनुभयो । आयातमुखी र विप्रेषणमुखी हाम्रो अर्थतन्त्रका कारण विदेशबाट अरबौं रुपैयाको उपभोग्य बस्तु र उद्योगको कच्चा बस्तु आयात भइरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले नेपालमा प्राकृतिक श्रोत प्रचुर रहेकोले सार्वजनिक , निजी र सहकारीको नेतृतृवमा समुदायलाई सँगै अगाडि लिएर जाँदा उत्पादन बृद्धि गर्न सकिने र त्यसका लागि बाधक नीति र ऐन बदल्नु पर्ने आफूले महशुस गरेको बताउनुभयो ।

नेपाल आर्थिक मञ्चका अध्यक्ष गंगाबहादुर थापाको अध्यक्षतामा काठमाडौंको प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभा गृहमा सम्पन्न उक्त समारोहमा जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भटृराई, नेकपा (एमाले)का नेता घनश्याम भुषाल, नेपाली कांग्रेसका नेताका.रामशरण महत र नेकपा (माके)का नेता शक्तिबहादुर बस्नेतले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै नेपालमा भइरहेको योजनाबद्ध विकासको समीक्षा गरी त्यसका कमजोरीहरुलाई सच्याएर अगाडि बढ्नु पर्ने र नेपाली राष्ट्रिय अर्थतन्त्रको तीन वटा खम्बा- सार्वजनिक, निजी र सहकारी बीच उचित संयोजन गर्नु पर्ने आवश्यकता रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *