सृजना कलाले

विष्णुकुमार शर्मा निरौला

माटो छ सुन्दर उसै अझ टम्म पार्नेे

कर्तव्य हुन्छ सबको अब बिघ्न टार्ने

लागौं न बेर नगरीकन एकताले

पारौं लु भव्य धरती सृजना कलाले ।।१।।

खोलौं नयाँ विविध उद्यम कारखाना

शिक्षा नयाँ प्रविधिका अनि पाठशाला

रोपौं जुटी श्रम गरी सब भन्न थाले

पारौं लु भव्य धरती सृजना कलाले ।।२।।

पुर्खा परिश्रम गरीकन साहसी ती

जोगाई यो मुलुकको अरुबाट शक्ति

यत्रो कमाइ उनको अब एकताले

पारौं लु भव्य धरती सृजना कलाले ।।३।।

हाम्रा छिमेक अनि सागर पारि बस्ने

कत्रो गरे विविध उन्नति सभ्य बन्ने

हामी भयौं पछि , उठौं अब एकताले

पारौ लु भव्य धरती सृजना कलाले ।।४।।

भूकम्पबाट अनिकाल र अग्नि पैह्रो

छेकौं प्रकोप सब शत्रु विनास गैह्रो

भो भो उठौं अब छिट्टै श्रम एकताले

पारौं लु भव्य धरती सृजना कलाले ।।५।।

लागौं सबै मिलिजुली अब धीर बन्दै

बाटो नयाँ प्रगतिको अब झट्ट बन्दै

बनेर सभ्य दिलको अब एकताले

पारौं न भव्य धरती सृजना कलाले ।।६।।

( वसन्ततिलक छन्दको यो कविता मोति समस्यापूर्ति प्रकाशन समिति नेपाल , बिर्तामोड नगरपालिका-७, झापाद्वारा प्रकाशित मोति छन्दकला– भाग ४ बाट साभार ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *