काठमाडौ/ चन्द्र पात्रो अनुसार आज श्रीपञ्चमी तिथि । आज विशेष गरी शिक्षा तथा कला क्षेत्रमा कार्यरत व्यक्तिहरुले विद्याकी देवी सरस्वतीको पुजा आरधना गरिरहेका छन् । परम्परा अनुसार बिहान सबेरै नुहाईधुवाई गरी सफा सुग्घर भएर उनीहरुले सरस्वतीको पुजा आरधना गरिरहेको देखिएको छ । ओमिक्रोन भेरियन्ट संक्रमणको जोखिम भएपनि सुरक्षा प्रबन्ध गरी काठमाडौं उपत्यका लगायतका देशका विभिन्न स्थानका धेरै विद्यालयले विद्यार्थीहरुलाई विद्यालयमा नै उपस्थित गराएर सरस्वती पुजा गर्न थालेको जानकारी प्राप्त भएको छ । बिदा भएका विद्यालयहरुका विद्यार्थीहरुले भने सफासुग्घर भएर आफ्नै निवासमा नै सरस्वतीको पुजा गरेको पनि देखिएको छ ।
श्रीपञ्चमीलाई वशन्त पञ्चमी पनि भन्ने गरिन्छ । नाग पञ्चमीको दिनबाट हिउँद र वशन्त पञ्चमीको दिनबाट बर्खा लाग्ने जनविश्वास अनुरुप आज खेतबारी जोतखन गर्न आरम्भ गर्ने , नयाँ काम शुरुवात गर्ने , बच्चाहरुको नाक कान छेडीदिने र साना नानीहरुलाई अक्षरारम्भ गराउने जस्ता कार्य गर्ने गरिन्छ । बिगत केही वर्षयता शहर बजारमा श्रीपञ्चमीको दिनबाट मन्टेश्वरी लगायतका बाल शिक्षालयहरुले विद्यार्थीको नयाँ भर्ना गर्ने चलन चलाउन थालेका छन् । जसका लागि सरस्वती पुजाको दिन भर्ना गर्ने विद्यार्थीलाई तिनीहरुले केही सहुलियत दिने गरेको देखिन्छ । ।