काठमाडौं/ काठमाडौंको गोकर्णेश्वर नगरपालिका भित्रका विद्यालय २०७८ माघ २३ गतेदेखि भौतिक रुपमा सञ्चालन गर्ने गरी गोकर्णेश्वर नगरपालिकाले निर्णय गरेको जनाइएको छ ।
सो नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव विजयप्रसाद आचार्यले भौतिक रुपमा विद्यालय सच्चाउन गर्न उपयुक्त तथा भरपर्दो र विश्वसनीय वातावरण मिलाउन सबैलाई अनुरोध गर्नु भएको छ । सो अनुसार वातावरण तय भए /नभएको विषयमा नगरपालिकाबाट अनुगमन गरिने र सो अनुसार नपाइएमा नियमानुसार गरिने उहाँको भनाई छ ।
यता नेपाल सरकारले भने काठमाडौं उपत्यका भित्र यो माघ मसान्तसम्म विद्यालय, कलेज, ट्युसन सेन्टर लगायतमा भौतिक उपस्थितिमा पठन/पाठनमा रोक लगाउने जनाएको छ तर काठमाडौं उपत्यका भित्रका कतिपय संस्थागत विद्यालयहरुले भौतिक उपस्थितिमा कक्षा १० को पठन पाठन गराउन थालेका छन् ।
शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले यही माघ १५ गतेदेखि आजसम्म १२ वर्ष माथिको उमेरका विद्यार्थीहरुलाई खोप लगाउन विद्यालयहरुलाई निर्देशन दिएको थियो ।
उता झापा सहित कतिपय जिल्लाका विद्यालय तथा कलेजहरुमा आजबाट विद्यार्थीहरुको भौतिक उपस्थितिमा पठन पाठन शुरु भएको समाचार प्राप्त भएको छ ।
त्रि.वि. का रोकिएका परीक्षा फागुनमा सञ्चालन हुने
त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा आउदो फागुनमा सञ्चालन हुने जनाइएको छ ।