नेपाल उद्योग परिसंघले शैक्षिक क्षेत्रका विषयमा ३ विश्वविद्यालयका उपकुलपतिसँग छलफल गरेको जनाएको छ । सो परिसंघको शिक्षा परिषद्को संयोजनमा आज पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलिया, लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्ण बज्राचार्य र मध्यमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतमसँग अबको शिक्षाको प्रणाली तथा संयन्त्र कस्ता हुनुपर्ने, विश्वविद्यालय र उद्योगहरुबीच सहकार्यको सम्भावना र बजार केन्द्रित शैक्षिक कार्यक्रम लगायतका विषयमा छलफल भएको हो ।
छलफलमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले उद्योगको आवश्यकता अनुरुप प्रयोगात्मक शिक्षा प्रणाली आवश्यक रहेको भन्दै यसका लागि नेपाल उद्योग परिसंघ विश्वविद्यालयहरुसँग समन्वय र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
त्यस अवसरमा लुम्बिनी विश्वविद्यालयका उपकुलपति बज्राचार्यले नेपालमा शिक्षाको गुणस्तर बृद्धी गर्न आवश्यक रहेको भन्नुहुँदै पाठ्यक्रम बजार आवश्यकता अनुसारको बनाउन जरुरी रहेको बताउनुभयो । यसैगरी पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति थपलियाले नेपालले सञ्चालन गरिरहेका प्रोग्राममा पुर्नविचार गर्नुपर्ने बताउनुभयो । शिक्षामा नयाँपनको आवश्यकता रहेको भन्नुहुँदै पूर्वाञ्चल विश्वविद्यालयमा आर्टिफिसियल इण्टलिजेन्समा स्नातक तहको पाठ्यक्रम सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । यस्तैगरीमध्यमाञ्चल विश्वविद्यालयका उपकुलपति गौतमले विदेशी विद्यार्थीहरुलाई नेपालमा आर्कषित गर्न विश्वविद्यालयहरु र्याङकिङमा केन्द्रित हुनुपर्ने खाँचो औंल्याउनुभयो। विद्यार्थीहरुले र्याङकिङमा हेरेर विश्वविद्यालय छनौट गर्ने भएकाले विश्वविद्यालयको र्याङकिङ बृद्धी गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।
छलफलमा नेपाल उद्योग परिसंघ शिक्षा परिषद्का सभापति द्धिराज शर्मा लगायत सहभागी हुनुहुन्थो।