सात वटै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने प्रस्ताव मन्त्रीपरिषदमा

काठमाडौं/ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले देशका सात वटै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने प्रस्ताव आफूले मन्त्री परिषदमा लगेको सञ्चारकर्मीहरुलाई बताउनु भएको छ । मेडिकल शिक्षाका नाममा वर्षेनी ठूलो धनराशी विदेशिने गरेको तथा स्वदेशमा सञ्चालनमा रहेका निजी मेडिकल कलेज भित्रको चर्को शुल्क जस्ता बेथिति र दादागिरीका कारण मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीहरु पीडित भइरहेको बेला मन्त्री पौडेलको यो कार्यलाई सरोकारवालाहरुले सकारात्मक रुपमा लिएको देखिएको छ ।

यसैगरी मन्त्री पौडेलले प्राविधिक तथा व्यवसायिक शिक्षा परिषद (CTEVT) को संरचना अहिलेलाई सातवटै प्रदेशमा स्थापन गर्ने र पछि त्यसलाई बिस्तार गरी स्थानीय तहसम्म पु-याउने लक्ष्य रहेको जानकारी दिनु भएको छ ।

समाजमा सीपमुलक प्राविधिक तथा व्यवसायिक शिक्षाको आवश्यकता भएपनि अधिकांश प्राविधिक तथा व्यवसायिक शिक्षालय सुगम स्थानमा मात्रै रहेका र सो शिक्षामा सरकारीको तुलनामा निजीको बढी बोलवाला रहेकोले आर्थिक विपन्न तथा दूरदराज/देहातका लक्षित वर्ग र समूहका अधिकांश मानिसका छोराछोरी प्राविधिक तथा व्यवसायिक शिक्षाको पहुँच बाहिर छन् । जसले गर्दा उनीहरुका लागि यो शिक्षा कागलाई बेल पाको हर्ष न विस्मात जस्तै भएको मेडिकलका विद्यार्थी समेत रहेका अखिल नेपाल विद्यार्थी पूनियनका अध्यक्ष मनिष भट्टराईको भनाई छ । यो वर्ग र समुदायमा प्राविधिक तथा व्यवसायिक शिक्षाको पहुँच नपुग्दासम्म समाजको आधारभूत तहमा बेरोजगारी जस्ता समस्या रहिरहने भएकोले उनीहरुमा राज्यले यो शिक्षाको पहुँच स्थापित गर्नु जरुरी रहेको सरोकारवालाहरुको भनाई छ ।

Leave a Reply