अखिल हुदै वाम राजनीतिमा लागेका धनराज पोखरा महानगरपालिकाको मेयरमा निर्वाचित

पोखरा/ अन्तत: अखिल हुदै वाम राजनीतिमा प्रवेश गरेका सत्ता गठबन्धनको तर्फबाट नेकपा (एस)का मेयर उम्मेद्वार धनराज आचार्यले आफ्ना पूर्व सहकर्मी समेत रहेका नेकपा (एमाले)का उम्मेद्वार कृष्णबहादुर थापालाई पराजित गरी पोखरा महानगरपालिकाको मेयरमा निर्वाचित हुनुभयो । फुल रोपेर मेयरको पदीय जिम्मेवारी सम्हालेका आचार्यले पोखरालाई पर्यटनको राजधानी बनाउने पोखरा महानगरपालिकाका नि:बर्तमान मेयर मानबहादुर जी.सी.ले अगाडि सारेको कार्यक्रमलाई निरन्तरता दिएर त्यसलाई सार्थक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले सत्ता गठबन्धनको तर्फबाट आफ्नै टिमकी नेपाली कांग्रेसकी उप-मेयर उम्मेद्वार , जो नेकपा (एमाले)की मञ्जुदेवी गुरुङसँग पराजित हुनुभयो, लाई पोखरा महानगरपालिकाको बोर्डमा ल्याउने र सबै मिलेर पोखरालाई स्मार्ट सिटी बनाउने योजना अगाडि सार्नुभएको छ । विपन्न परिवारलाई वडाको सिफारिसमा भत्ता दिने घोषणा गरेका मेयर आचार्य आफूले गरेका प्रतिबद्धता पूरा गर्न लाग्नुहुन्छ भन्ने धेरैको अपेक्षा रहेको देखिन्छ ।

नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय समिति सदस्य बनेका आचार्यले बामदेव गौतम नेतृत्वको नेकपा (माले)को विद्यार्थी संगठन अनेरास्ववियूको केन्द्रीय सचिवालय सदस्य तथा शैक्षिक विभाग प्रमुख भएर काम गर्नुभयो । २०५८ फागुन ३ गते नेकपा (माले) नेकपा (एमाले)मा बिलय भएसँगै नेकपा (एमाले)मा फर्किएका आचार्य पोखरामै बसेर नेकपा (एमाले)को राजनीतिक काममा निरन्तर लागिरहनुभयो । २०७८ भदौमा नेकपा (एमाले) मा विद्रोह गरी माधवकुमार नेपाल नेतृत्वमा बनेको नेकपा (एस)मा रहेका आचार्यले राजनीतिक क्रियाकलाप र आय आर्जनका कामलाई सँगसँगै अगाडि बढाउनुभयो । राम्रो क्षमता भएको इमान्दार राजनीतिकर्मीको छवि नै उहाँ मेयरमा निर्वाचित हुने मुख्य आधार बनेको पोखरेली मतदाताहरुको भनाई छ ।

यता पोखरा महानगरपालिकाकी नि:बर्तमान उप-मेयर मञ्जुदेवी गुरुङ पुन: सो महानगरपालिकाको मेयरमा भारी मतका साथ निर्वाचित हुनुभयो । सत्ता गठबन्धनकी नेपाली कांग्रेसकी उप-मेयर उम्मेद्वार कोपिला रानाभाटलाई पराजित गरी नेकपा (एमाले)की गुरुङ विजयी हुनुभएको हो । यस अगाडि आफूले उप-मेयर भएर गरेको कामलाई पोखरा महानगरबासीले अनुमोदन गरेको उहाँको बूझाई छ ।

कास्कीका बाँकी ४ पालिकामा पनि एमाले र कांग्रेसको बर्चस्व

कास्कीका पोखरा महानगरपालिका बाहेकका बाँकी ४ पालिकामा नेकपा (एमाले) र नेपाली कांग्रेसले बर्चस्व कायम गरेका छन् । कास्कीको रुपा र अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा मादी गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेद्वार विजयी भए । यसैगरी कास्कीको माछापुछ्रै गाउँपालिकाको अध्यक्ष र उपाध्याक्ष तथा मादी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भए । कास्कीका ५ वटै पालिकाको उप-मेयर / उपाध्यक्षमा भने महिला उम्मेद्वार निर्वाचित हुनुभयो ।

कास्कीका ५ पालिका मध्ये २ पालिकाका अध्यक्ष र ४ पालिकाको उप-मेयर / उपाध्यक्ष जितेको नेकपा (एमाले) कास्की जिल्ला समन्वय समितिको लागि एक्लो दाबेदार बनेको छ ।

()कान्तिपुर दैनिकको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *