अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन नेपाल उद्योग परिसंघको माग

नेपाल उद्योग परिसंघले अराजक गतिविधि गर्नृेलाई कानूनी दायरामा ल्याएर कारबाही गरि सुरक्षित रुपमा व्यापार, व्यवसाय र पेशा सञ्चालन गर्ने उचित वातावरण बनाउन सरकारलाई अनुरोध गरेको छ । २०७१ चैत्र १६ गते नेपाल उद्योग परिसंघले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त कुरा उल्लेख छ । सो विज्ञप्तिमा अगाडि भनिएको छ -“हिजो शुक्रबार निजी सम्पत्ति तथा सञ्चारगृहमा भएको तोडफोड, आगजनी, तथा व्यवसायिक प्रतिष्ठानमा भएको लुटपाटको घटना अत्यन्त दु:खद् हो । विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्दा आम सर्वसाधारण, विभिन्न पेशा, व्यवसायमाथि भौतिक आक्रमण, व्यक्तिगत सम्पत्तिमाथि आगजनी, व्यवसायिक प्रतिष्ठानमा तोडफोड एवं लुटपाट जस्ता कार्य जहिले पनि निन्दनिय छ ।
निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी, लुटपाट जस्ता अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याई सुरक्षित रुपमा व्यापार, व्यवसाय, पेशा गर्न पाउने अधिकारलाई सुरक्षित बनाउन परिसंघ माग गर्दछ । साथै यस प्रकारका घटना दोहोरिन नदिन परिसंघ सम्बन्धित सबैमा अपिल समेत गर्दछ ।
विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्न पाउने अधिकार सुरक्षित भएतापनि यस्ता कार्यले अरु कसैको अधिकार हनन् गर्न हुँदैन भन्नेतर्फ समेत सचेत हुन सम्बन्धित सबैलाई परिसंघ आग्रह गर्दछ ।
परिसंघ शुक्रबारको घटनामा परी निधन हुनुभएका व्यक्तिहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं । साथै, घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।”

सीएनआई र एमच्याम नेपालद्वारा ‘टेक पीक नेपालः ओर्लाण्डो २०२५’ को सफल आयोजना, अमेरिकी आईटीईएस उद्योगमा नेपालको ऐतिहासिक उपलब्धी

नेपाल उद्योग परिसंघ (सीएनआई) ले अमेरिकन च्याम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) को सहकार्यमा ‘टेक पीक नेपालः ओर्लाण्डो २०२५’ सफलतापूर्वक सम्पन्न भएको २०८१ चैत्र १५ गते नेपाल उद्योग परिसंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सो विहृप्तिमा अगाडि भनिएको छ – “यो नेपालबाट अमेरिकामा आयोजना गरिएको पहिलो अन्तर्राष्ट्रिय रोडशो हो, जसले नेपाललाई आईटी-सम्बद्ध सेवा तथा आउटसोर्सिङका लागि एक प्रमुख गन्तव्यका रूपमा प्रस्तुत गरेको छ । यस ऐतिहासिक पहलले नेपाललाई विश्वव्यापी प्रविधि क्षेत्रको महत्वपूर्ण हिस्सा बनाउने सम्भावनालाई उजागर गरेको छ ।

रोडशो अन्तर्गत नेपालका आईटी तथा आईटीईएस कम्पनीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा सहभागी गराउन आउटसोर्सिङ क्षेत्रको सबैभन्दा ठूलो भेला ‘सेयर्ड सर्भिसेस् एण्ड आउटसोर्सिङ वीक (एसएसओडब्लू) सम्मेलन २०२५’ मा एक विशेष नेपाल पवेलियन प्रस्तुत गरिएको थियो । नेपाल पवेलियनले नेपालका प्रमुख प्रविधि कम्पनीहरूलाई विश्वभरका लगानीकर्ता, उद्योग विज्ञ, तथा निर्णयकर्तासमक्ष चिनाउन सफल भयो ।
नेपाल पवेलियनमा नेपालका छ वटा अग्रणी प्रविधि कम्पनीहरू सक्छ, इनोभेट टेक, एफवान सफ्ट, सिमजुङ, सिनिकल टेक्नोलोजी, र मोनाल टेकले आफ्ना नवप्रवर्तन तथा आउटसोर्सिङ क्षमता अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरे । यी नेपाली कम्पनीहरू Capgemini ,SAP, Infosys, IBM,Cognizant, PwC, Wipro, FlexTecs,TCS, HCL जस्ता विश्वप्रसिद्ध प्रविधिमुखी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्दै नेपाललाई ठूलो लगानीका लागि तयार गन्तव्यका रूपमा स्थापित गरेको छ । टेक पीक नेपालः ओर्लाण्डो २०२५ मा नेपाली टोलीको नेतृत्व परिसंघ आईटी काउन्सिल सभापति एवं एमच्याम नेपालका संस्थापक अध्यक्ष अजित शाहले गर्नभएको थियो ।

टेक पीक नेपालः ओर्लाण्ढो २०२५ ले अन्तर्राष्ट्रिय प्लाटफर्ममा महत्वपूर्ण उपलब्धी हासिल गरेको परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताउनुभयो । यस पहलमार्फत नेपालले अन्तर्राष्ट्रिय सूचना प्रविधि तथा आउटसोर्सिङ उद्योगमा विशाल सम्भावना प्रस्तुत गर्न सफल भएको उहाँले उल्लेख गर्नुभयो । “यो सुरुवात हो, हामी नेपाललाई एक अग्रणी आईटीईएस हबका रूपमा स्थापित गर्न निरन्तर लागिरहनेछौं ।”

एमच्याम नेपालका अध्यक्ष निर्मल काजी श्रेष्ठले परिसंघ र एमच्याम नेपालबीचको सहकार्यले नेपालको आईटीईएस क्षेत्रमा नयाँ आयाम स्थापित गरेको बताउनुभयो । यस रोडशोले सिर्जना गरेका अवसरहरूले नेपालमा थप लगानी र सहकार्यका ढोका खोल्ने र नेपाललाई आउटसोर्सिङका लागि प्रमुख गन्तव्य बनाउने विश्वास व्यक्त गर्नभयो ।

एसएसओडब्लू सम्मेलन २०२५ मा एक हजार भन्दा बढी उद्योग विज्ञहरूको सहभागिता रहेको थियो, जसले नेपाली प्रविधि कम्पनीहरूलाई सम्भावित अन्तर्राष्ट्रिय ग्राहक, लगानीकर्ता, तथा रणनीतिक साझेदारहरूसँग सम्पर्क गर्ने अभूतपूर्व अवसर प्रदान गर्यो ।

टेक पीक नेपालः ओर्लाण्डो २०२५ को प्रमुख उद्देश्य नेपाललाई एक भरपर्दो र प्रतिस्पर्धी आईटीईएस तथा आउटसोर्सिङ गन्तव्यका रूपमा स्थापित गर्न हो । यस रोडशोले नेपालको डिजिटल रूपान्तरण यात्रामा महत्वपूर्ण कोशेढुंगा स्थापित गर्दै विदेशी लगानी प्रबर्द्धन, रोजगारी सिर्जना तथा अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्न मद्दत गरेको परिसंघको विश्वास छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *