आउदो चैत्र ३१ र बैशाख १ गते भक्तपुरमा क्यालेण्डर प्रदर्शनी हुने

इभेण्ट प्लानेट भक्तपुर टुर्सको आयोजनामा २०८१ चैत्र ३१ गते र २०८२ बैशाख १ गते भक्तपुरको भक्तपुर दरबार, सिद्धपोखरी, र योसिखेलमा क्यालेण्डर प्रदर्शनी हुने भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रदर्शनी आयोजना गर्न लागेको इभेण्ट प्लानेट भक्तपुर टुर्सले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सो प्रेस विज्ञप्तिमा भनिएको छ – “नेपालमा क्यालेण्डर प्रदर्शनी आयोजना गरिँदैछ, जसले देशभरका लाखौं नागरिकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। नेपालमा २०८१ सालमा मात्र २ करोड ९० हजार थान क्यालेन्डर निःशुल्क वितरण गरिएको थियो, भने २०८२ मा यो संख्या ३ करोड नाघ्ने अनुमान गरिएको छ ।

यसै सन्दर्भमा, भक्तपुर दरवार, सिद्धपोखरी र योसिखेलमा विशेष प्रदर्शनीको आयोजना गर्न लागिएको छ, जहाँ देशभरका बैंक, सहकारी संस्था, विद्यालय, व्यापारिक प्रतिष्ठान, राजनीतिक संगठन लगायतका विभिन्न संघ संस्थाहरूले आफ्ना आकर्षक क्यालेण्डरहरू प्रदर्शन गर्नेछन् ।

क्यालेण्डर मात्र नभई, यस प्रदर्शनीले नेपालका ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । प्रत्येक क्यालेण्डरमा समेटिएका सूचनाहरू नेपालभित्रको आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण सावित हुने आयोजकहरूको विश्वास छ।

बिस्का जात्रा हेर्न वैशाख १ गते मात्र भक्तपुरमा दुई लाखभन्दा बढी आगन्तुकहरू भित्रिने भएकाले, आयोजकहरूले क्यालेण्डर प्रकाशकहरूलाई यही अवसरमा आफ्ना क्यालेण्डर प्रदर्शन गर्न विशेष अपील गरेका छन् ।

नेपालमा क्यालेण्डर केवल मितिहरू हेर्ने साधन मात्र नभई, हाम्रो संस्कृति, परम्परा, र पहिचानको अभिन्न हिस्सा बनिसकेको छ। यो प्रदर्शनीले देशभरका नागरिकहरूलाई एकैसाथ सूचनामूलक, सौन्दर्यपरक र ऐतिहासिक महत्त्व बोकेका क्यालेण्डरहरूको अवलोकन गर्ने अवसर प्रदान गर्नेछ।

क्यालेन्डर प्रदर्शनमा सहभागी हुन चाहने प्रकाशकहरूले समयमै स्थान सुरक्षित गर्न आयोजक सचिवालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।”

‘क्यालेण्डर मात्र होइन, अब नेपालमा पर्यटन प्रवर्द्धनको एउटा अभिनव शैली ! तपाईं पनि यो ऐतिहासिक क्षणको साक्षी बन्न नबिर्सनुहोस्’, आयोजकले अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *