
- ऋषि कट्टेल
विगतमा विद्यार्थ र शिक्षक संगठनहरुले ठुलाठुला शैक्षिक आन्दोलनहरु गरे तर आज आफूलाई वामपन्थी भन्ने शिक्षकका संगठनहरु सत्ताको तावेदारी गर्ने झोले संगठनमा पतन भएका छन या यिनका नेताहरु शैक्षिक माफियामा रुपान्तरित भएका छन् । त्यसैगरी सत्ताबाहिर रहेका केही साना विद्यार्थी संगठनहरु बाहेकका कथित शक्तिशाली भनिने विद्यार्थी संगठनहरु शैक्षिक माफियाका दानापानीमा रमाएर बसेका छन्। साथै सिंगो वाम आन्दोलन दिशा विहिन भएको छ ।
कथित निजीकरणको नाममा शिक्षालाई निजीकरण गरिएको छ । निजी क्षेत्रलाई प्रोत्साहित गर्न सरकारी विद्यालयहरुलाई नियोजित रुपमा बेकम्वा बनाइएका छन् । हुनेखाने वर्गका र सत्तासीनहरुका सन्तानहरु सरकारी विद्यालयमा पढदैनन् । यतिमात्र हैन, स्वयं त्यही (सरकारी) विद्यालयकोे शिक्षक पनि आफ्ना छोराछोरीलाई आफ्नो विद्यालयमा पढाउदैन । राज्यका दायित्व बोकेकाहरुनै पन्छिई सकेपछि यस्ता विद्यालयहरु वेवारिसे बन्नेनै भए । अवस्था यहाँसम्म पुगेको छ कि- १२ कक्षा पास गरेपछि कोही पनि विद्यार्थी देशभित्रै पढन चाहदैन । पढुन पनि कहाँ ? सरकारी क्षेत्रमा पढाइ नै हुदैन । त्रिवि यति निकम्वा बनिसकेको छ कि- यसले निम्नतम शैक्षिक क्यालेण्डर समेत लागू गर्दैन । जसले गर्दा दूई वर्षको कोर्ष पूरा गर्न चार वर्ष कुर्नू पर्दछ । प्राध्यापकहरुको ध्यान पढाइमा ,अनुसन्धानमा हैन -अमूक दलको झोला बोक्नमै र अवसर खोजीमै केन्द्रित छ या निजी क्षेत्रको पिरियड कुरेर बसेका छन् । निजी क्षेत्र यति महंगो छ,, जहाँ आमजनताको पहुँच पुग्नै सक्दैन । अनि विदेश नहिडे कहाँ जाने ?
यी सबै अवस्थाको मुख्य जड शिक्षामा गरिएको निजीकरणनै हो । जवसम्म शिक्षालाई राज्यले दायीत्व लिदैन, तवसम्म शैक्षिक समस्या हल हुदैन । समाजवादी देशहरुमा मात्र हैन, पूँजीवादी देशहरुले पनि शिक्षालाई राज्यको दायित्व भित्र राखेका छन् । शिक्षाको विकास वेगर देश विकासको कल्पनै गर्न सकिदैन । यसर्थ ,आजको शैक्षिक संघर्षको एक मात्र नारा शिक्षामा गरिएको निजीकरणको खारेजी र हरेेक नागरिकलाई वैज्ञानिक शिक्षाको सर्वशुलभता हुनुपर्दछ । यसैको निम्ति गरिने संघर्षनै आजको शैक्षिक संघर्षको सही कार्दिशा हो ।
(कट्टेल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष हुुनुहुन्छ । )




