आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न नेपाल उद्योग परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले विदेशस्थित नेपाली राजदूतावासहरुमार्फत स्वदेशी वस्तुहरुको निर्यात एवं प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको सो परिसंघ टोलीले आज परराष्ट्र मन्त्री एन.पी. साउदसँग छलफल गर्दै वैदेशिक लगानी भित्र्याउन, स्वदेशी वस्तुहरुको प्रवर्द्धन गर्न र पर्यटन प्रवर्द्न गर्नका लागि आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको हो । त्यस अवसरमा अध्यक्ष अग्रवालले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नीतिगत स्थायित्व, सहज व्यवसायिक वातावरण र छिटो छरितो निर्णय गर्ने संयन्त्र आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सम्बन्धित देशका लगानीकर्तासँगको व्यवसायिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले यसका लागि नेपाली दूतावासहरुले व्यवसायिक प्रतिनिधिमण्डलको नियमित भ्रमण तथा अन्तरक्रिया गर्न सहजिकरण गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।

उक्त परिसंघले भारतदेखि विराटनगरसम्म सुरु भएको कार्गो रेल्वे सेवा सञ्चालनका लागि निरन्तरता दिनुपर्ने, नेपाल भारतबीच मोटर भइकल एग्रिमेण्ट गरी नेपाली मालबाहक एवं अन्य सवारी साधनहरुको आवतजावतलाई सहज बनाइनुपर्नेमा जोड दिएको छ ।
सोही अवसरमा परराष्ट्र मन्त्री साउदले नेपाल उद्योग परिसंघले उठाएका विषयहरुलाई उच्च प्राथमिकतामा राख्ने बताउनुभयो ।

उक्त छलफलमा नेपाल उद्योग परिसंघका उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर , भीम घिमिरे र महानिर्देशक दीपकराज जोशी लगायत सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *