एमाले काठमाडौं उपत्यकामा निरिह , नेकपा (माके) र नेकपा (एस) परेनन् मतदाताको रोजाईमा

आफूलाई मस्सुर सिंह ठान्ने नेकपा (एमाले) गत आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा प्रत्यक्ष तर्फको निर्वाचनमा भने काठमाडौं उपत्यका निरिह बनेको छ । पार्टी भित्रको अन्तरविरोधलाई समाधान नगरी चुनावमा होमिएको नेकपा (एमाले)का काठमाडौं क्षेत्र नं.९ का कृष्णगोपाल श्रेष्ठ , ललितपुर क्षेत्र नं.२ का प्रेम महर्जन मात्रै विजयी हुनुभएको छ । यसबेलासम्म ३ स्थानमा विजय हासिल गरेको सो पार्टी उदयपुर क्षेत्र नं.२ का अम्बरबहादुर रायमाझी नेकपा (एस) का उप-महासचिव जगन्नाथ खतिवडालाई पराजीत गरी विजयी हुन सफल हुनुभएको छ । यसैगरी उक्त पार्टीका गुल्मी क्षेत्र नं.२ का गोकर्ण विष्ट नेकपा (एस)की सचिव रामकुमारी झाक्रीलाई पछि पारी विजयी हुनुभयो । यसबेलासम्म सो पार्टीले यस अगाडि जितेका मुस्ताङ, रसुवा तथा ललितपुर क्षेत्र नं १, काठमाडौं क्षेत्र नं.२,३,५,७ र ८ तथा अछाम क्षेत्र नं.१ गुमाएको छ । यस निर्वाचनमा सो पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल , नेता राजन भट्टराई , नि:बर्तमान सांसद कृष्ण राई र नवराज सिलवाल लगायतका उम्मेद्वार पराजीत हुनुभएको छ । प्रतिनिधि सभाको समानुपातिक तर्फ २ लाख भन्दा बढी मत प्राप्त गरी सकेको सो पार्टीले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ४३ स्थानमा अग्रता हासिल गरेको छ ।

नेकपा (माके) र नेकपा (एस) परेनन् काठमाडौं उपत्यकाबासीको रोजाईमा

त्यस्तै काठमाडौं उपत्यकाबासीको नजरमा नेकपा (माके) र नेकपा (एस)का उम्मेद्वार पर्न सकेनन् । यो निर्वाचनमा नेकपा (माके)की काठमाडौं क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार तथा पूर्व सभामुख ओनसरी घर्ती , पूर्व मन्त्री तथा सोही पार्टीकी काठमाडौं क्षेत्र नं.९ की प्रतिनिधि सभा सदस्य उम्मेद्वार कल्पना धमला र त्यसै पार्टीकी काठमाडौ क्षेत्र नं.१० की प्रतिनिधि सभा सदस्य उम्मेद्वार अञ्जना बिसङ्खेको कमजोर उपस्थिति रह्यो ।

उक्त पार्टीका उम्मेद्वारले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १५ स्थानमा अग्रता कायम गरेपनि अहिलेसम्म सिन्धुली क्षेत्र नं.२ का लेखनाथ दाहाल ‘राजन’ मात्रै विजयी हुनुभएको छ । दाहालले नेकपा (एमाले)का मनोज थापालाई भारी मतान्तरले पराजीत गर्नुभयो । त्यस पार्टीले प्रतिनिधि सभाको समानुपातिकतर्फ १ लाख मत कटाएको जनाइएको छ ।

त्यस्तैगरी नेकपा (एस) काठमाडौं क्षेत्र नं.८ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ र ललितपुर क्षेत्र नं२ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार कृष्णलाल महर्जन पनि यो निर्वाचनमा निकै कमजोर देखिनुभयो तर सो पार्टीका नेता बशन्त मानन्धर भने काठमाडौं क्षेत्र नं.७ (क)बाट बागमती प्रदेश सभा सदस्यमा विजयी हुनुभयो । सो पार्टीका उप-महासचिव जगन्नाथ खतिवडा र सचिव रामकुमारी झाक्री पनि प्रतिनिधि सभा सदस्यमा पराजीत हुनुभयो ।

प्रतिनिधि सभाको ७ स्थानमा अग्रता बनाएको सो पार्टीका अछाम क्षेत्र नं.१ का उम्मेद्वार शेरबहादुर कुँवर नेकपा (एमाले)का झपट बोहोरालाई भारी मतान्तरले पराजीत गरी विजयी हुनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *