नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट अपदस्त भएका कुलमान घिसिङ आफूमाथि अन्याय भएको भन्दै कानूनी उपचारको खोजीमा आज अदालत जाने भएका छन् । हिजो नै कानून व्यवसायीहरुसँग अदालत जाने बारेमा छलफल गरेपनि नेपाल सरकार, उर्जा, जलश्रत तथा सिंचाई मन्त्रालयले आफूलाई नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट हटाएको ३ पन्ने पत्र हिजो ढिलो पठाएकोले आज उनी न्यायका लागि अदालत जाने तयारीमा रहेको जनाइएको छ ।
गत सोमबार बसेको नेपाल सरकार , मन्त्रीपरिषदको बैठकले सरकारले आफूलाई सोधेको स्पष्टीकरणको घिसिङले बुझाएको जवाफ चित्त बुझ्दो नभएको भन्दै उनलाई नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट हटाएर सो पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको मंगलबार नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुुुङले सञ्चारकर्मीलाई बताउनुभएको थियो ।
उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले हिजो पठाएको ३ पन्ने पत्रमा घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट हटाउनु पर्नाको १० कारण उल्लेख गरेको बताइएको छ । पटक पटक स्पष्टिकरण सोधेर हैरान बनाएका उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री खड्काले घिसिङलाई प्रबन्ध निर्देशकबाट हटाउने प्रस्ताव मन्त्रीपरिषदको बैठकमा लगको र त्यसलाई परराष्ट्र मन्त्री आरजु राणा देउवाले समर्थन गरेको बताइएको छ ।
घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट हटाएको समाचार सार्वजनिक भएसँगै नेकपा (माके)का अध्यक्ष पुष्पकाल दाहाल ‘प्रचण्ड’, नेपाल कांग्रेसका महनमन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनलथापा, नेता शेखर कोइराला र अर्जुननर सिह के.सी. रास्वपा सभापति रवि लामिछाने लगायतले असन्तुष्टि व्यक्त गर्नुका साथै नेकपा (माके),नेकपा (एस)का जन संगठनका साथै असन्तुष्ट नागरिक सडकमा निस्केर विरोध गरी उनलाई पुन: पदबहाली गर्न माग गरे । विरोधमा उत्रिएको नेकपा (एस) निकट अनेरास्ववियूले मंगलबार प्रदर्शनीमार्गमा उर्जा , जलश्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको पुत्ला जलाए भने आन्दोलनकारीले प्रधानमन्त्री केपी शर्मा ओली र उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री दीपक खड्का विरुद्ध नाराबाजी गरे ।
उता म्गलबार बसेको संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट हटाएको कार्यप्रति नेकपा (माके), रास्वपा सहितका सांसदले असन्तुष्टी व्यक्त गरेका थिए । सार्वजनिक लेखा समितिको उक्त बैठकले अपदस्त भएका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङ विरुद्ध परेको ६ वटा उजुरीदमाथि छनविन गर्न सांसद प्रेमबहादुर आलेको संयोजकत्वमा सांसद श्यामकुमार घिमिरे र अमनलाल मोदी सदस्य रहेको छानविन समिति बनाएको जनाइएको छ ।
लोडसेडिङ हुदैन : हितेन्द्र
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले भारतबाट विद्युत किनेर ल्याएपनि लोडसेडिङ हुन नदिने बताएका छन् । सरकारले आफूलाई नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त गरेर आफूमाथि न्याय गरेको बताउदै उनले अपदस्त प्रबन्ध निर्देशक कुलमान घिसिङले अगाडि बडाएका कतिपय राम्रा कामलाई निरन्तरता दिने प्रतिबद्दता व्यक्त गरेका छन् ।





