त्रिभुवन विश्वविद्यालयले शैक्षिक वर्ष २०८१/८२ को शैक्षिक प्रणालीका लागि आफ्ना क्याम्पसहरुमा मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतको स्नातक तह प्रथम वर्षको भर्ना फारम २०८१ श्रावण २८ गतेबाट वितरण गर्ने र बुझ्ने भएको छ । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षको कार्यालयले जारी गरेको सूचनामा भदौ महिनाभित्र भर्ना आवेदन फारम बुझ्ने, डीन कार्यालयको निर्णय बमोजिम प्रवेश परीक्षा र भर्ना गराई असोजबाट पठनपाठन शुरु गर्ने, २०८२ असारमा परीक्षा सञ्चालन गरि त्यसको नतिजा असोजमा प्रकाशन गर्ने उल्लेख छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको नतिजा प्रकाशन गर्न १३/१४ महिनासम्म लगाउदा दिक्क भएका विद्यार्थीहरु लगायतका सरोकारवालाहरुले त्रिभुवन विश्वविद्यालयले जारी गरेको यो वार्षिक शैक्षिक कार्यक्रमप्रति खुशी प्रकट गर्दै यसको कार्यान्वयनमा जोड दिएका छन् । पोखरा विश्वविद्यालयको उप-कुलपतिको जिम्मेवारी पूरा गरेको अनुभव भएका त्रिभुवन विश्वविद्यालयको उप-कुलपति प्रा.डा. केशरजङ्ग बरालले त्रिभुवन विश्वविद्यालय सुधारमा लागेको देखिएको जानकारहरु बताउछन् । पूर्ववर्ती पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका पालामा अरु प्रतिस्पर्धी उम्मेद्वारहरुलाई पछि पारेर त्रिभुवन विश्वविद्यालयको उप-कुलपति बनेका प्रा.डा. बराल र कुलपति समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली वीच तिक्तता देखिएका समाचार सार्वजनिक भए तर कुलपति ओलीले ती समाचारमा सत्यता नरहेको बताउनुभएको छ ।





