काठमाडौंको कपनस्थित भृकुटी चोकमा रहेको नवोदय बहुउद्देश्यीय सहकारी सस्था लि.को १५ औं वार्षिक साधारण सभा सोही संस्थाका अध्यक्ष नेत्रप्रसाद आचार्यको अध्यक्षता तथा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यता यही पुस २ गते शनिबार सम्पन्न भयो । काठमाडौंको भृकुटीचोकमा रहेको निराग पार्टी प्यालेसमा सम्पन्न सो साधारण सभाको प्रमुख अतिथि अधिकारीले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । सो अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि अधिकारीले सहकारी संस्थामा सदस्यहरु नै बढी सक्रिय भई सहकारीका हरेक गतिविधिमा रहिरहदा सहकारी व्यवस्थित भई त्यहाँ कुने किसिमको समस्या नआउने बताउनुभयो । ऐन नियमको पालना गरी सहकारी संस्थाहरुले उत्पादन बृद्धी , रोजगारी सिर्जना र आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्ने विचार व्यक्त गर्नुभयो । त्यसैगरी साधारण सभामा बुढानिलकण्ठ नगरपालिकाका प्रवक्ता तथा सोही नगरपालिका वडा नं.१० का वडाध्यक्ष नवराज भट्टराईले समुदायमा आधारित नवोदय बहुउद्देश्यीय सहकारी संस्था लि.को आवस्था राम्रो रहेको बताउदै यसले उत्पादनमूलक क्षेत्रमा आफ्नो लगानी बृद्धि गर्न र थप प्रगतिपथमा अगाडि बढ्न सकोस भनी कामना गर्नुभयो । सहकारीको विकास र प्रवर्द्धनमा आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
साधारण सभामा सो संस्थाको सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै त्यसै संस्थाका अध्यक्ष आचार्यले समाजमा छरिएर रहेको स-सानो रकमलाई बचतको माध्यमबाट संकलन गरेर त्यसलाई प्रवाह गरी आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पु-याउने उद्देश्यले स्थापना भएको हाम्रो यो सहकारी संस्था सहकारी सिद्धान्त , ऐन र नियम तथा नियामक निकायले समय-समयमा जारी गरेका नीति निर्देशनको पालना गरी राम्रोसँग सञ्चालन भइरहेको छ र शेयर सदस्य महानुभावहरुको निरन्तर साथ र सहयोगले गर्दा विषम परिस्थितिमा हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि सकेको भन्दै आगामी दिनमा पनि सबैको साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सो संस्थाको प्रगति र दीर्घकालीन योजनाको बारेमा प्रकाश पार्नुभयो । साधारण सभामा उक्त संस्थाका कोषाध्यक्ष नवीन आचार्यले आर्थिक प्रतिवेदन , लेखा सुपरीवेक्षण समितिका संयोजक विश्वराज धितालले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र प्रबन्धक शंकरप्रसाद आचार्यले गत वर्ष र यस वर्षको सो संस्थाको आय व्यय तथा वित्तीय विवरणको व्याख्या र विश्लेषण सहितको प्रतिवेदन प्रस्तुत गर्नुभयो । शेयर सदस्यहरु छलफल भई ती प्रतिवेदनहरु साधारण सभाले पारित ग-यो । साधारण सभाले पारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७८/०७९ मा उक्त संस्थामा रु.१४ करोड ३४ लाख कुल सम्पति सहितको वित्तीय विवरण उल्लेख छ । संस्थाका उपाध्यक्ष विष्णु भट्टराईले स्वागत मन्तव्य र सचिव गणेश भट्टराईले सञ्चालन गर्नुभएको साधारण सभामा पुष्पलाल मेमोरियल कलेजका निर्देशक तथा शिक्षाविद केशवराज पुडासैनी , लाइफ भिजन बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष छविरमण आचार्य , सप्तदेब बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष बालकृष्ण भट्टराई ,सिन्धु काठमाडौं बचत तथा ऋण सहकारी सस्था लि.का अध्यक्ष चन्द्रप्रकाश आचार्य ,उमङ्ग बचत तथा ऋण सहकारी संस्था लि.का सचिव सन्तोष चौलागाईं तथा गायक सूर्यमणि आचार्य लगायतको आतिथ्यता रहेको थियो ।
शेयर सदस्यहरुको व्यापक उपस्थिति रहेको त्यस साधारण साधारण सभामा सो संस्थामा उत्कृष्ठ बचतकर्ता र उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्यहरुलिई सम्मान गरिएको थियो ।