अन्तत: नेपाल विद्युत प्राधिकरणले सबै उद्योगका काटिएका विद्युत लाइन जोड्ने भएको छ । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा आज दिउसो बसेको नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले काटिएका सबै उद्योगका विद्युत लाइन जोड्ने निर्णय गरेको बताइएको छ । आइतबार बसेको नेपाल सरकार , मन्त्रीपरिषदको बैठकले लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने , १५ दिनभित्र उठ्न बाँकी डेडिकेटिड र ट्रङ्क लाइन प्रयोगकर्ताबाट विद्युत महशुल उठाउने र काटिएका उद्योगको विद्युत लाइन २४ घण्टाभित्र जोड्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिने निर्णय भए बमोजिम उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले सोमबार सबै उद्योगका काटिएका लाइन जोड्न पत्राचार गरेको थियो । सोही अनुरुप नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठक बसेपनि कोरम नपुगेर स्थगित भई आज विहान ११:०० बजे बैठक डाकिएको थियो तर सो बैठक दिउसो २:०० बजे बसेको थियो ।
लोडसेडिङको बेला आफूले उपयोग गरेको डेडिकेटिड र ट्रङ्क लाइनको विद्युतको महशुल केही उद्योगीले तिर्न अटेर गरेपछि समस्या उत्पन्न भएको हो ।