नेपाल सरकारको आ.व.२०८१/८२ को बजेटप्रति नेपाल हस्तकला महासंघको मिश्रित धारणा सार्वजनिक

आर्थिक वर्ष २०८१/८२ को लागि नेपाल सरकारको बजेट माथि नेपाल हस्तकला महासंघले आफ्नो धारणा सार्वजनिक गरेको छ । उक्त महासंघका अध्यक्ष प्रचण्ड शाक्यले २०८१ जेष्ठ् २१ गते सार्वजनिक गर्नु भएको सो महासंघको धारणा देहाय अनुसार छ ।
१. उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धि गरी निजी क्षेत्रको मनोवल उच्च तुल्याउंदै आर्थिक क्रियाकलापमा तीव्रता ल्याउने मूलभूत उद्देश्यका साथ आर्थिक वर्ष २०८/८२ को बजेट नेपाल सरकारका माननीय अर्थमन्त्री श्री वर्षमान पुनबाट सार्वजनिक भएको छ ।
२. लाखौं व्यक्तिहरुलाई रोजगारी प्रदान गरिरहेको स्वदेशी श्रम, सीप र स्थानीय कच्चा पदार्थको उपयोग गरी तयार गरिने हस्तकलाका वस्तुहरुको वार्षिक झण्डै १२ अर्व भन्दा बढीको निर्यात व्यापार मार्फत विदेशी मुद्रा भित्र्याइरहेको देशको कला, संस्कृति र सम्पदा क्षेत्रको प्रतिनिधित्व गर्ने यस उद्योग व्यवसायलाई बजेटले संबोधन गर्न नसकेको प्रति महासंघको गम्भिर चिन्ता र चासो रहँदा रहँदै पनि देशको अर्थतन्त्रमा आएको चुनौतिलाई संबोधन गरी आर्थिक क्षेत्रलाई चलायमान तुल्याउने तर्फ बजेट परिचालन हुने कुरा सराहनिय रहेको छ ।
३. आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न तथा उत्पादनलाई रोजगारीसँग आवद्ध गराउने बजेटले लिएको लक्ष्य निकै सकारात्मक रहेको छ । यो लक्ष्य परिपूर्तिको लागि नेपाल सरकारले हस्तकला जस्तो स्थानीय श्रम, सीप र कच्चा पदार्थमा आधारित उद्योगको प्रवर्द्धनमा विशेष जोड दिनुपर्ने देखिन्छ । त्यसैगरी हस्तकला क्षेत्रको दीर्घकालीन विकासको लागि एकै छाना मुनिबाट वस्तु तथा डिजाइन विकास, गुणस्तर प्रमाणिकरण, बजारीकरण र व्यवसाय विकास सेवा एकीकृत रुपमा सरोकारवालाहरुलाई उपलव्ध गराउने उद्देश्यका साथ सार्वजनिक निजी नागरिक साझेदारी (pppp) मोडलमा नेपाल सरकार, नेपाल हस्तकला महासंघ र सार्क विकास कोषद्वारा स्थापना गरिने सार्क हस्तकला विकास केन्द्र नेपालको स्थापना तथा सञ्चालनको सम्बन्धमा बजेटले संबोधन नगर्नु साह्रै दुःखद पक्ष रहेको छ ।
४. निजी क्षेत्रसँगको सहकार्यमा बागमती प्रदेशलाई उद्योग हव र लुम्विनी प्रदेशलाई साना तथा मझौला उद्यमी हव बनाइने र प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमद्वारा स्वदेशी उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम मार्फत स्वदेशी उत्पादनलाई प्रोत्साहित गरिने बजेटमा उल्लेखित कार्यक्रमले रोजगार प्रदायक हस्तकला उद्योग व्यवसायबाट उत्पादित वस्तुहरुलाई नेपालका तीन वटै तहका सरकारहरुबाट उपभोग गर्नु पर्ने नीति बनाई हस्तकलाको आन्तरिक बजार विकासमा सहयोग पु-याउने कुरामा महासंघ आशावादी रहेको छ ।
५. नेपाल व्यापार एकीकृत रणनीतिले पहिचान गरेका र हाल उच्च परिमाणमा निर्यात भइरहेका वस्तुको अतिरिक्त तुलनात्मक रुपमा कम परिमाणमा निर्यात भएतापनि तुलनात्मक लाभ भएका र अग्र सम्बन्धन र पृष्ठ सम्बन्धन भएका हस्तकला वस्तुको निर्यात प्रवर्द्धनमा पनि बजेट परिलक्षित हुनु पर्दछ भन्ने महासंघको माग रहेको छ ।
६. उद्यममा यूवा सहभागिता बढाउने र नव प्रवर्तनका लागि उद्यमशील वातावरण तयार गर्ने उद्देश्यले स्टार्टप उद्यमीलको लागि रु.१ अर्वको कोष व्यवस्थापन गर्नु सराहनीय छ । सो कोषबाट हुने ऋण प्रवाह सम्बन्धी कार्यविधि झञ्झट रहित र लघु, घरेलु तथा सानो स्तरमा रहेका हस्तकला उद्यमी मैत्री बनाउनु पर्दछ भन्ने महासंघको सुझाव रहेको छ ।
७. वस्तु तथा सेवा प्रर्वद्धनको लागि सार्वजनिक निजी साझेदारीमा काठमाडौंको चोभारमा निर्माण गरिने अन्तर्राष्ट्रिय स्तरको प्रर्दशनी स्थल सबै उद्यमी व्यवसायीहरुलाई समेटने गरी वृहत रुपमा अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम निर्माण गर्नु पर्ने यस महासंघको धारणा रहेको छ ।
८ . स्वदेशमा उत्पादित वस्तुको बजारीकरणको लागि स्थापना गरिने कोसेली घर काठमाडौंको त्रिपुरेश्परमा स्थापना हुने सार्क हस्तकला विकास केन्द्रमा संमाहित गरी वृहत हस्तकला प्रर्दशनी तथा बिक्री केन्द्रको रुपमा प्रवर्द्धन गरिनुपर्दछ भन्ने यस महासंघको माग रहेको छ ।
९. औद्योगिक विकास र उद्यमशीलता प्रवर्द्धनको लागि झण्डै साढे ६ अर्व बजेट छुट्याउनु निकै सराहनीय रहेको छ । सो बजेट विदेशी मुद्रा भित्र्याइ आयात प्रतिस्थापन गर्ने र रोजगारी सिर्जना गर्ने हस्तकला क्षेत्रमा उद्यमशीलता विकास र प्रवर्द्धनको लागि उपयोग हुनु पर्दछ ।
१०. मेक ईन नेपाल र मेड ईन नेपाल अभियानमा निजी क्षेत्रसँग सहकार्य गरिने, प्रत्येक प्रदेशमा विननेश इन्क्युवेसन सेण्टर स्थापना गरिने, स्वेदशी श्रम र कच्चा पदार्थको प्रयोग गरी कम तौल र उच्च मूल्य भएका वस्तु उत्पादन गरी निर्यात गर्ने बजेटमा राखिएको कार्यक्रम सकारात्मक रहेको छ ।
११. उद्योग वाणिज्य क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने औद्योगिक व्यवसाय ऐन र श्रम ऐनलाई समयानुकूल संशोधन गरिने कुरा सकारात्मक छ । उल्लेखित ऐन कानून संशोधन हुँदा निजी क्षेत्रसँग पनि समन्वय राखी पर्याप्त छलफल र अन्तरक्रिया पछि मात्र अन्तिम रुप प्रदान गर्नु पर्ने यस महासंघको सुझाव रहेको छ । त्यसैगरी बौद्धिक सम्पत्ति सम्बन्धी कानून र हस्तकला क्षेत्रको दिगो विकासको लागि यस महासंघले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रस्तुत गरेको हस्तकला नीतिलाई पनि जतिसक्दो चाँडो अन्तिम रुप प्रदान गर्न महासंघ नेपाल सरकारसँग हार्दिक आग्रह गर्दछ । नेपाल सरकारले तर्जुमा गर्ने बौद्धिक सम्पत्ति सम्बन्धी कानूनमा देशको कला, संस्कृति र सम्पदाको प्रतिनिधित्व गर्ने हस्तकला वस्तुको बौद्धिक सम्पत्ति संरक्षण गर्न सामूहिक व्यापार चिन्ह विकासको लागि नेपाल सरकारले अनुदान उपलव्ध गराउनु पर्ने र निजी क्षेत्रका संघ संस्थाहरुबाट विकास गरिसकिएका सामूहिक व्यापार चिन्हको प्रर्वद्धनका लागि आवश्यक आर्थिक श्रोत र कानूनी संरक्षणको व्यवस्था गर्न महासंघ नेपाल सरकारसँग माग गर्दछ ।

१२. निकासीकर्ताले विदेशी मुद्रा प्राप्त भएको कागजात पछि पेश गर्ने शर्तमा अमेरिकी डलर २५ हजारसम्मको सामान निकासी गर्न पाउने व्यवस्थाले हस्तकला निर्यातमा सकारात्मक प्रभाव पार्ने महासंघको विश्वास रहेको छ तर हस्तकला निकासी ब्यापार प्रवर्द्धनको लागि नेपाल सरकारले प्रदान गर्दै आएको नगद प्रोत्साहन निकासीकर्ताको खातामा जम्मा गरी दिने लगायत महासंघले उठाएका हस्तकला क्षेत्रका धेरै विषयवस्तुहरु बजेटले संबोधन गरेको पाइएन । यस तर्फ पनि नेपाल सरकार गम्भिर भई दिन महासंघ हार्दिक अपिल गर्दछ ।
१३. आगामी सन् २०२६ बाट नेपाल अल्प विकसित देशबाट विकासशील देशमा स्तरोन्नति भएपछि विकसित देशहरुले हाल प्रदान गरिरहेका सौविध्य प्राप्त सुविधाहरुबाट नेपाली उद्यमी व्यवसायीहरु बञ्चित हुन जाने छन् । जस्ले गर्दा हाम्रो प्रतिस्पर्धी क्षमता पनि घट्न जाने छ । यस्तो अवस्थामा हाम्रो उत्पादन तथा निकासी व्यापारमा आउने उल्लेखित चुनौतीहरुको सामना गर्न सक्ने गरी हाम्रो प्रतिस्पर्धी क्षमता बढाउन प्रस्तुत बजेटले संबोधन गरिएको पाइएन । यस तर्फ नेपाल सरकार संवेदनशील हुनुपर्ने अवस्था रहेको छ ।
१४. हस्तकला क्षेत्रमा धेरै कार्यहरु अनौपचारिक क्षेत्रमा हुने भएकाले अनौपचारिक क्षेत्रमा कार्यरत कामदार तथा श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गर्दै लैजाने बजेटले लिएको नीति सान्दर्भिक रहेको छ ।
१५. ई कमर्सको माध्यमबाट हस्तकलाको बजारीकरणमा सहयोग गर्न र हस्तकला क्षेत्रमा डिजिटल भुक्तानीको प्रर्वद्धन गर्नको लागि ई पोर्टलको निर्माण र प्रर्वद्धनमा हस्तकला उद्यमी व्यवसायीहरुलाई नेपाल सरकारले अनुदान सहयोग उपलव्ध गराउनु पर्दछ ।

Leave a Reply