प्रतिनिधि सभाको सभामुख चयन भोलि ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकबाट हुने भएको छ । जसका लागि आज दिउसो १:०० बजेदेखि ४:०० बजेसम्म हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

राष्ट्रपति र प्रतिनिधि सभाको सभामुख नेकपा (एमाले)लाई दिने नेकपा (एमाले) र नेकपा (माके) बीच यस अघि सहमती भएको भनेर सार्वजनिक भएको थियो तर यी पदको बाडफाडको विषयमा दलहरु बीच छलफल जारी छ ।
यता राष्ट्रपति , उप-राष्ट्रपति , सभामुख र उप-सभामुख भागबण्डाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिएका राजनीतिक दलहरुका नेताहरुको बैठक हिजो बालुवाटारमा आयोजना गर्नुभएको थियो । त्यसैगरी आज विहान नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले विहान बस्तै छ ।
कर्णाली प्रदेश सभाको उप-सभामुख बाहेक सबै प्रदेश सभाका सभामुख र उप-सभामुख चयन
यता प्रदेश सभाका सभामुख र उप- सभामुख चयन भएका छन् । जस अनुसार १ नं. प्रदेशको सभामुखमा नेकपा (माके)का बाबुराम गौतम निर्विरोध चयन हुनुभयो भने उप-सभामुख पदमा नेकपा (एमाले)की सिर्जना दनुवार ५७ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी लीलाकुमारी राईले ३३ मत प्राप्त गर्नुभयो ।
यस्तै मधेश प्रदेशको सभामुखमा नेकपा (एमाले)का रामचन्द्र मण्डल ७४ मत प्राप्त गरी विजयी हुनुभयो भने उप-सभामुखमा जनमत पार्टीकी बबिताकुमारी राउत ईशर ७२ मत प्राप्त गरी विजयी हुनुभयो ।
बागमती प्रदेशको सभाभुखमा राप्रपाका भुवन पाठक निर्वाचित हुनुभयो भने उप-सभामुखमा नेकपा (एमाले)की अप्सरा चापागाई नेमकिपाकी गीता काफ्लेलाई पछि निर्वाचित हुनुभयो ।
गण्डकी प्रदेश सभाको सभामुखमा नेकपा (माके)का कृष्णप्रसाद धिताल नेपाली कांग्रेसकी सरस्वती अर्याल तिवारीलाई पछि पारी विजयी हुनुभयो । त्यसैगरी उप-सभामुखमा नेकपा (एमाले)की विना थापा नेपाली कांग्रेसकी पार्वती तामाङलाई पछि पारी विजयीक्षहुनुभयो ।
लुम्बिनी प्रदेश सभाको सभामुखमा नेकपा (माके)का तुलाराम घर्ती र उप-सभामुखमा राप्रपाकी मेनुका के.सी. खाण निर्विरोध चयन हुनुभयो । नेपाली कांग्रेसका विश्वप्रेम पाठक र नाउपाकी निर्मला चौधरीले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि के.सी. उप-सभामुखमा निर्विरोध चयन हुनुभएको हो ।
कर्णाली प्रदेशको सभामुखमा नेकपा (एमाले)की नन्दा गुरुङ नेपाली कांग्रेसका खड्गबहादुर पोखरेललाई पछि पारी विजयी हुनुभयो । गुरुङ ७ वटै प्रदेश सभाका सभामुख निर्वाचित हुने एक मात्र पहिलो महिला हुनुहुन्छ ।
सुदूरपश्चिम प्रदेश सभाको सभामुखमा नेकपा (माके)का भीम भण्डारी २९ मत प्राप्त गरी तेश्रो पटकको प्रयासमा विजयी हुनुभयो । यस अघि २ पटकसम्म तटस्थ बसेको नाउपाले अन्तत: मतदान गरेपछि भण्डारी निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका मानबहादुर रावलले २० मत पाउनुभयो । उप-सभामुख पद नाउपाले पाएपनि नेता रेशमलाल चौधरीको रिहाई नहुदासम्म राजकीय पद नलिने अडान लिएपछि सो प्रदेश सभाको उप-सभामुखमा नेकपा (एमाले)की कोइलीदेवी चौधरी २८ मतका साथ नेकपा (एस)की माया पन्तलाई पछि पारी विजयी हुनुभयो । पन्तको पक्षमा २४ मत परेको थियो ।





