प्रधानमन्त्री प्रचण्डको आश्वासनप्रति मिटर व्याज पीडितहरु सशंकित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटर व्याज तथा लघुवित्त पीडितहरुका समस्या आफूले समाधान गर्ने बताउनुभएको छ । मिटर व्याज तथा लघुवित्त पीडित संघर्ष समितिका प्रतिनिधिहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटका क्रममा प्रधानमन्त्री प्रचण्डले सो आश्वासन दिनुभएको ह‍ो । त्यसक्रममा पीडितहरु डाको छाडेर रुदै पीडितहरुले प्रधानमन्त्री प्रचण्डलाई आफूहरुले भोगिरहेका समस्या समाधान गर्न अनुर‍ोध गरेको बताइएको छ । । गत साउनमा सरकार र मिटरव्याज तथा लघुवित्त पीडित संघर्ष समिति बीच भएको ५ बुँदे सहमती कार्यान्वयन गर्न सरकार यसबेलासम्म पनि तत्पर नभएपछि प्रधानमन्त्री प्रचण्डको यो आश्वासन पूरा हुनेमा विश्वास गर्न सकिरहेका छैनन् । त्यसैले आफूहरुको माग पूरा नभएसम्म मिटरव्याज तथा लघुवित्त पीडित संघर्ष समितिले आन्द‍ोलन जारी राख्ने बताएका छन् ।

महोत्तरीको बर्दिबासबाट ११ दिनसम्म पैदलै हिडेर मिटरव्याज तथा लघुवित्त पीडितहरु यसै हप्ताको शुरुमा काठमाडौं पुगेर सरकारबाट आफ्ना माग पूरा गराउन दवाव र जागरणमूलक संघर्ष गर्दै आएका छन् ।

यता नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली , नेकपा (एसका)का सम्मानित नेता झलनाथ खनाल , राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन , नेपाली कांग्रेसका नेता नैनसिंह महर लगायतले मिटरव्याज पीडितका समस्या समाधान गर्नु सरकारलाई आग्रह गर्नु भएक‍ो छ ।

यसैगरी मिटरव्याज पीडितहरुको संघर्षमा समाजवादी देशभक्त संयुक्त म‍ोर्चाले ऐक्यबद्दता जनाएक‍ो छ । सो म‍‍ोर्चाले यही चैत्र १५ गते काठमाडौंमा मिटरव्याज, लघुवित्त र महङ्गीको विरोधमा जनप्रदर्शन ग-यो । सो जनप्रदर्शनलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कीर्ति सी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्यु्निष्ट पार्टीका नेता अर्जुन कार्की, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका नेता धनकुमारी सुनारले मिटरव्याज तथा लघुवित्त लगायतबाट पीडितहरुका समस्या सरकारले तत्काल समाधान गर्न र महङ्गी नियन्त्रण गरी जनताको जीवन सहज बनाउनु पर्ने बताउनुभयो ।

विशेष गरी तराई / मधेशका जिल्लामा अन्तको तुलनामा बढी देखिएको यो समस्या समाधानमा प्रदेश सरकार र स्थानीय तहले चासो नदिएको र कतिपय स्थानीय तह सहितमा निर्वाचित जनप्रतिनिधिहरु नै मिटरव्याज र लघुवित्त पीडकको संरक्षक भएको पीडितहरु बताउछन् । मिटरव्याज र लघुवित्तबाट ३,३०० भन्दा बढी नागरिकहरु पीडित भएका र तीमध्ये अधिकांश मानिसहरु घरजग्गा विहीन अवस्थामा पुगेका जानकारहरु बताउछन् । कतिपय सहकारी संस्थाका सञ्चालक र व्यवस्थापक पनि मिटरव्याजी रहेको र तिनीहरुबाट समेत आफूहरु पीडित बन्नु परेको पीडितहरुको गुनासो छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य डाचाराज वाग्लेले सर्लाहीमा मिटरव्याज तथा लघुवित्त पीडितहरुको हक अधिकारको लागि संघर्ष शुरु गर्नु भएको थियो , जो पछि उहाँको ज्यान जाने कारण बनेको मिटरव्याज तथा लघुवित्त पीडित संघर्ष समितिका एक सदस्यको भनाइ छ ।

यता नेपाल सरकार , मन्त्रीपरिषदले भने मिटर व्याजलाई फौजदारी अपराध संहितामा समावेश गरी दण्डनीय अपराधको रुपमा समावेश गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *