दिदी बहिनीहरु बीच मित्रता अभिबृद्धि एवं सदस्यहरुको आर्थिक सामाजिकस्तर र साँस्कृतिकस्तर उकास्ने उद्देश्यले २०७९ सालमा स्थापित ब्यासी छोरी बुहारी समूहको वार्षिक भेटघाट तथा सदस्य भेला च्वङ्खा गणेश मन्दिर सल्लघारीमा २०८१ बैशाख १९ गते वनभोजकार्यक्रम सहित सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा सांसद प्रेम सुवालले ‘महिला दिदी बहिनीहरु अन्धविश्वासमा लाग्नु हुन्न । जाँड रक्सी नखाऔं। जाँड रक्सी खानेका आयु चाडै सक्छ । आमाबुबाले जाँड रक्सी र चुरोट खानु हुन्न । जाँड रक्सी र चुरोट खाएमा छोरा छोरीले देखासिकी गर्छ र सन्तान कुलतमा फस्छ । आमा बुबा सु-संस्कृत र ब्यबहारिक भइ छोरा बुहारीको लागि उदाहरणीय बन्नुपर्छ’ भन्नुभयो । उहाँले कामदार वर्गले अधिकार पाएको दिनको स्मरणमा प्रत्येक बर्ष मे १ मा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ र आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस हो भन्दै अन्तर्राष्ट्रिय श्रमिक दिवसको सबैमा शुभकामना दिनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य सिर्जना सैजुले ‘महिलाहरुमा स्तन क्यान्सर मात्र नभई पाठेघर क्यान्सरमा बृद्धि भइरहेको र प्रत्येक दिन चार जनामा पाठेघर क्यान्सर भइरहेको छ’, भन्नुभयो । उहाँले ब्यासी छोरी बुहारी समूहले सामाजिक भावनाको विकास गर्न सकोस भनी १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको सबैमा शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा ब्यासी छोरी बुहारी समूहका सल्लाहकार तथा ख्वप बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजकुमार लघुले ‘महिलाहरु बीच बचतको भावना विकास गर्नुको साथै प्राप्त ब्याज र आम्दानीबाट सदस्यहरुलाई सीपमूलक र आयमूलक तलिम आयोजना गरी महिलाहरुलाई स्व-रोजगार बनाउनुपर्छ’, भन्नुभयो । उहाँले यो समूहले समय समयमा सदस्यहरुको स्वास्थ्यलाई ख्याल गरी विभिन्न रोगको स्वास्थ्य शिविर पनि आयोजना गर्न अनुरोध गर्नभयो ।
ब्यासी छोरी बुहारी समूहकी अध्यक्ष धर्मलक्ष्मी लघुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सोही समूहकी सचिव बबिमैया कवां ,सदस्य सुलोचना सुवाल र सदस्य रोशनमैया सुवालले छोरी बुहारी समूहको गतिविधि र आय/ब्ययबारे प्रकाश पार्नुभयो ।