भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा २०८० भाद्र २० गते बुधबार शुभकामना पार्टी प्यालेस,भक्तपुरमा एक दिवसीय सहकारी सम्बन्धी अवधारणागत गोष्ठी अन्तर्गत नेपाल वित्तीय प्रतिवेदन मान, सामाजिक सुरक्षा कोष, स्थिरीकरण कोष र कर्जा जानकारी केन्द्रको विषयमा गोष्ठी सम्पन्न भयो । गोष्ठीको अध्यक्षता गर्नु भएका भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजूले गोष्ठीमा विषयबस्तु प्रस्तुतीकरण गर्दै हाम्रो यो संघमा आबद्ध सदस्यहरुले कानूनको परिपालनामा जोड दिएको कारण हालको विषम परिस्थितिमा पनि संस्थामा कुनै समस्या नआएको बताउनुभयो । उहाँले ‘स्थिरीकरण कोष अनिवार्य होइन तर समस्या परेको बेला यो मलमपट्टी लगाउने साधन हो’, भन्नुभयो । उहाँले कर्जा सुचना केन्द्रले संस्थालाई ऋण लगानी पूर्व सचेत गराउनुको साथै भाखा नाघेको ऋणको साँवा र व्याज असुलीमा टेवा पु-याउने विचार व्यक्त भयो । उहाँले सहकारीमा एनएफआरएस (NFRS) लागू गर्दा सहकारी सफा र स्वच्छ हुने र सहकारीमा हालको अवस्था आउन नदिन समेत भूमिका खेल्नुका साथै सहकारीमा एनएफआरएस (NFRS) लागू गर्दा कर्मचारीहरु दक्ष हुने र लेखा विश्वस्तरीय हुने बताउनुभयो ।
गोष्ठीमा मन्तव्य व्यक्त गर्दै नेफ्स्कूनका कोषाध्यक्ष तथा काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष दीपक पनेरूले ‘स्थिरीकरण कोष बिग्रेको समस्याग्रस्त सहकारी संस्थालाई राहत स्वरुप दिइने होइन’, भन्नुभयो । उहाँले नीतिगत ठूलो सहकारी संस्थामा समस्या पर्दा बैंकलाइ नेपाल राष्ट्र बैंकले सहयोग गरे जस्तैं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.ले भविष्यमा हुन सक्ने सम्भावित जोखिमबाट कोषमा योगदान गर्ने संस्थाहरुलाई बचाउन कोषको स्थापना भएको बताउनुभयो ।
गोष्ठीमा मन्तव्य व्यक्त गर्दै राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक तथा र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि बजगााईँले एनएफआरएस (NFRS) प्राविधिक विषय भएकोले सहकारीमा कार्यरत व्यवस्थापक तथा लेखापाललाई तालिम दिएर दक्ष बनाउनुपर्ने विचार व्यक्त गनुभयो । उहाँले लेखालाई पारदर्शी र विश्वव्यापी बनाउन नेपाल वित्तीय प्रतिवेदन मान पालना गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।
गष्ठीमा मन्तव्य व्यक्त गर्दै दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष भुमिराज खड्काले सामाजिक सुरक्षा कोष सानो सहकारीलाई पनि दायित्व न्युन हुने, रोजगार गुमे पनि आय आउने, बिरामी हूदाँ राहत मिल्ने, बुढेसकाललाई साहारा, दुर्घटनाको लागि ओखती र अशक्त हुँदाको साहास र कर्मचारीको लागि सुविधा राम्रो रहेको बताउनुभयो ।
गोष्ठीमा मन्तव्य व्यक्त गर्दै काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उदयराम कायष्ठले कर्जा सूचना केन्द्र सहकारी संस्थालाई एकदम आवश्यक रहेको बताउनूभयो । राज्यले कर्जा सूचना केन्द्रलाई सहकारीको पहुँचमा नपु-याउदा सहकारीलाई समस्या भएको बताउदै उहाँले कर्जा सूचना केन्द्रको लागि संघ तथा कम्पनीले सफ्वेयर बनाएर सञ्चालन गर्दा पनि सहकारी संस्था बीच सहकार्य नहुदाँ र सञ्चालक समितिको नाम बद्नाम हुन्छ भन्ने डर लगायतका कारण प्रभावकारी रुपमा प्रयोगमा आउन नसकेको विचार व्यक्त गर्नुभयो ।
गोष्ठीमा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गाप्रसाद ढकालले स्थिरीकरण कोषको परिचय, आबश्यकता, महत्व र संस्था आबद्ध हुने प्रक्रियाबारे प्रस्तुतीकरण गर्नुभ थियोयो ।
गष्ठीमा एनएफआरएस (NFRS) को परिचय, औचित्य, आवश्यकता र महत्वका विषयमा चार्टर एकाउण्टेण्ट विदुर लुइटेलले प्रस्तुतीकरण गर्नुभयो ।
आयको निरन्तर सुनिचितता र सबैका लागि सामाजिक सुरक्षा कोष रहेको गोष्ठीमा प्रस्तुतीकरण गर्दै सामाजिक सुरक्षा कोषका निर्देशक उत्तमराज नेपालले बताउनुभयो ।
गोष्ठीमा आफ्नो विचार व्यक्त गर्दै आर जी टेक्नोलोजीका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले कर्जा जानकारी केन्द्रले सञ्चालनमा ल्याएको कर्जा जानकारी सफ्वेयरले खराब ऋणीलाई तह लगाउन, ऋण उठाउन र विभिन्न रणनीति अपनाई ऋण असुलीमा टेवा प-याएको बताउनुभयो ।
गोष्ठीमा स्वागत मन्तव्य व्यक्त गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का उपाध्यक्ष हरि बल्लले अहिले सहकारी समस्या नीति नियममा नबसेको कारण र गर्नुपर्ने काम नगरी नगर्नुपर्ने काम गरेकोले देखिएको बताउनुभयो । उहाँले यस संघले हरेक कदममा संस्थाहरुलाई सवल बनाउन प्रयास जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो भने सोही संघका व्यवस्थापक बालकृष्ण धोंजु संघका सदस्य संस्थालाई सहकारी संस्थाले पालना गर्नुपर्ने विविध विषयहरुको बारेमा जानकारी गराई ती विषयहरुमा अवधारणगत साझा धारणाको विकास गराउने उद्देश्यले गोष्ठीको आयोेजना गरेको बताउनुभयो ।
गोष्ठीमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मा आबद्ध सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक सहित १५१ जनाको सहभागिता रहेको थियो । गोष्ठीमा प्रस्तुत विषयहरुबाट साझा धारणको विकास गरी सहभागीहरुबाट तपसिल बमोजिम ७ बुँदे निष्कर्ष समेत निकालियो ।
(१) नेपाल चार्टड एकाउण्टेन्स संस्थाले वित्तीय कारोबार गर्ने संस्थाहरुले नेपाल वित्तीय प्रतिवेदन मान अनुसार लेखापरीक्षण प्रतिवेदन तयार गर्नुपर्ने जारी निर्देशन अनुसार सो प्रतिवेदन मानका बारेमा संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र कर्मचारीहरुले अध्ययन गर्ने, गराउने र रु.५० करोड भन्दा बढी वासलात भएका संघ संस्थाले व्यवहारमा ल्याउन आवश्यक प्रबन्ध मिलाउने ।
(२) सहकारी संस्थामा कार्यगत कर्मचारीहरुको सुरक्षाका लागि संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आवश्यक छलफल गरी प्रक्रिया अघि बढाउने ।
(३) सहकारीको रक्षाकवज स्थिरीकरण कोषमा आबद्ध भएपछि सही समयमा अनुगमन र सहकारीमा समस्या पर्ना साथ स्थिरीकरण कोषले संस्थाको जिम्मा लिने व्यवस्था हुने गरी कोषमा आबद्ध हुने ।
(४) सहकारी कर्जा सूचना केन्द्र स्थापना नभएको अवस्थामा विद्यमान कर्जा सूचना केन्द्रमा सहकारीको सूचनाको पहुँच पु-याउनुपर्ने र विद्यमान विकल्पहरु मध्ये उपुयक्त विकल्प मार्फत कर्जा सूचनाको जानकारी सुनिश्चित गर्ने गराउने ।
(५) सहकारीले पालना गर्नुपर्ने कानुनी उत्तरदायित्व सुसूचित भई सो परिपालना गर्दै साझा धारणाको विकास, प्रवर्द्धन, अन्तर्क्रिया र गोष्ठी कार्यक्रम सञ्चालन गरी कार्यान्वयनमा प्रतिवद्ध हुने ।
(६) सहकारीको हालको विषम परिस्थितिमा सहकारीको बचत सुरक्षाको लागि जोखिम मुल्याँकन गरी न्युनिकरणको लागि सामूहिक छलफल, सहकार्य र असल अभ्यासको आदान प्रदान गर्ने ।
(७) सहकारीको असल अभ्यास मार्फत सदस्यको सेवा सुविधा एवं सदस्यको आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा जोड दिई सदस्यको बचत सुरक्षाको प्रत्याभूति गर्ने ।
गोष्ठीमा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।















