काठमाडौंको रिङ्रोड स्थित अन्नपूर्ण चोकमा आफ्नै भवनबाट

सञ्चालन भइरहेको माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि.कै को २३औ बार्षिक साधारण सभा यही पुस १६ गते शनिबार सोही संस्थाको सभा हलमा सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष गोविन्दप्रसाद शर्मा पौडेलको अध्यक्षतातामा सम्पन्न साधारण सभाको नेपाल सरकार , कृषि तथा पशुपंछी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले उद्घाटन गर्नुभयो । सो अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै सचिव डा. शर्माले कृषि तथा पशुपंछी विकास मन्त्रालयको गतिविधि बारे प्रकाश पार्दै सहकारी संस्थाले कृषि क्षेत्रमा आफूलाई केन्द्रित गरी कृषिजन्य उत्पादन बृद्धिमा सहयोग पुग्ने गरी कार्य गर्नु पर्ने विचार व्यक्त गर्नुभयो । त्यसैगरी उक्त अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल राष्ट्र बैकका पूर्व कानुन प्रमुख रामहरि न्यौपानेले माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि.को प्रतिवेदनमा उल्लेख भएका सबै सूचकाङ्क राम्रो रहेको बताउदै सो संस्थाको थप प्रगतिको कामना गर्नुभयो । उहाँले सहकारीको महत्वको बारेमा चर्चा गर्दै सहकारी संस्थाहरुको उत्पादनमूलक क्षेत्रमा लगानीक्षबृद्धि गरी रोजगारी बृद्धि हुने गरी कार्य गर्नु पर्ने खाँचो औंल्याउनुभयो । त्यस्तैगरी साधारण सभामा शुभकामना मन्तव्य वक्त गर्दै सहकारी विज्ञ डा. ज्ञानेन्द्रप्रसाद पौडेलले माउण्ट धौलागिरी सहकारी संस्था लि.ले गरेको प्रगति र उसले आफ्ना शेयर सदस्यहरुलाई प्रवाह गरेको सेवा प्रशंसनीय रहेको बताउनुभयो । उहाँले बैंक तथा अन्य वित्तीय संस्थाहरुमा देखिएको तरलता समस्याको प्रभाव सहकारी क्षेत्रमा परेपनि सदस्य केन्द्रित भई समुदायमा आधारित भएर सहकारीको सिद्धान्त , मुल्य र मान्यतालाई आत्मसाथ गरेर सञ्चालन भएका सहकारी संस्थाहरुमा वित्तीय अवस्था राम्रो रहेको बताउनुभयो । उहाँले सहकारीको माध्यमबाट शहरको पूँजी र प्रविधि ग्रामीण क्षेत्रमा र ग्रामीण क्षेत्रमा उत्पादित बस्तु शहरमा पु-याई उपभोक्ताले सस्तो मुल्यमा खरीद गर्न सक्ने वातावरण निर्माण गर्नु पर्ने खाँचो औंल्याउनुभयो ।
नेपाल सरकार , रक्षा मन्त्रालयका सह-सचिव प्रकाश पौडेल , नेपाल राष्ट्र बैंकका निर्देशक डिल्लीराम सुवेदी , शिक्षा विद तथा माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि.का पूर्व अध्यक्ष तिलकबहादुर कुँवर , उच्च अदालतका पूर्व न्यायाधीश कोमलनाथ घिमिरे , पूर्व प्रशासक प्रेम सुवेदी , नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का कोषाध्यक्ष पुष्प पौडेल , धौलागिरी समाज नेपालका अध्यक्ष केदारनाथ गौतम , सहकारी अभियान्ताहरु गणेश के सी. , लेखनाथ पौडेल , टुकनाथ ढकाल र रामचन्द्र तिवारी , धौलागिरी समाज नेपालका कार्यकारी सदस्य तथा पृथ्वी हिरण्य उच्च मा बि अमलाचौर ,बागलुङका पूर्व प्राचार्य इश्वरीप्रसाद ढकाल , बागलुङ काठमाडौं सम्पर्क समितिका पूर्व अध्यक्ष गौरीश्वर आचार्य लगायतको आतिथ्यता रहेको उक्त साधारणसभाको अध्यक्षता गर्दै त्यसै संस्थाका अध्यक्ष गोविन्दप्रसाद शर्मा पौडेलले नियामक निकायहरुले समय-समयमा जारी गरेका नीति र निर्देशनको पालना गरी सहकारीको सिद्धान्त , मुल्य र मान्यतालाई आत्मसात गरी समुदायमा आधारित रहेर सञ्चालन भइरहेको हाम्रो यो संस्था शेयर सदस्य महानुभावहरुको निरन्तर साथ र सहयोगले संकटको अवस्थामा पनि प्रगतिपथमा अगाडि बढ्न सफल भएको बताउदै त्यसका लागि सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो । उहाँले सो संस्थाको गतिविधि र भावी योजनाको बारेमा प्रकाश पार्नुभयो ।


साधारण सभाको उक्त संस्थाका सचिव एकनारायण उपाध्ययले सञ्चालन , सञ्चालक भक्तराज भुसालले स्वागत मन्तब्य र व्यवस्थापक रामचन्द्र पौडेल संयोजन गर्नुभयो । शेयर सदस्यहरु बीच छलफल गरी त्यस साधारण सभाबाट सो संस्थाको वार्षिक प्रगति प्रतिवेदन , आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन सर्वसम्मतीबाट पारित गरियो । साधारण सभामा बिभिन्न व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत समय-समयमा बिभिन्न सामाजिक कार्य गर्दै आएको त्यस संस्था वित्तीय कारोबारका अतिरिक्त माउण्टेन कुप फुडल्याण्डको सञ्चालन गरिरहेको छ ।
