नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले ‘बागमती किनारमा लामो समयदेखि बसोबास गरिरहेका वास्तविक सुकुम्बासीहरुलाई राज्यले उचित बैकल्पिक व्यवस्था गरेर मात्रै त्यहाँबाट सुकुम्बासी बस्ती हटाउनुपर्छ’, भन्नुभएको छ । अलगपथसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष कट्टेलले प्राकृतिक सौन्दर्य बचाउने नाममा उचित बैकल्पिक व्यवस्था नै नगरी बल प्रयोग गरी बागमती किनाराका सुकुम्बासी बस्तीमा डोजर चलाउनु मानव अधिकारको ठाडो उलङ्घन भएको भन्दै राज्यले त्यस्तो कार्य अविलम्व बन्द गरी बागमती किनाराका सहित देशभरका भूमिहीनहरुलाई उचित बसोबासको बन्दोबस्त गरी सुकुम्बासी र भूमिहीनको समस्या सदाका लागि समाधान गर्नु पर्ने बताउनुभयो । उहाँले सरकारले खेतीपाती गर्ने कृषकहरुलाई समयमा आवश्यक मल बीऊको व्यवस्था गर्न नसक्नु साह्रै दु:खद भएको भन्दै कृषकहरुलाई समयमा आवश्यक मल बीऊको व्यवस्था गर्नु पर्ने , उनीहरुले उत्पादन गरेका जिनिसको उचित मुल्य निर्धारण गरी तिनको उचित बजारीकरण गर्न र समस्या झेल्दै आएका उखु किसानका समस्या अविलम्व समाधान गर्नु पर्ने खाँचो औंल्याउनुभयो ।
काठमाडौं महानगरपालिका सहितका राज्यका निकायले बागमती किनाराका बस्ती एकाएक हटाउन खोजेपछि त्यसको विरोध भइरहेको छ ।
यसैक्रममा काठमाडौं महानगरपालिका सुरक्षाकर्मी सहित ४० जना भन्दा बढी घाइते भएका छन् । यही विषयमा नेकपा (एमाले)का अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बीच सामाजिक सञ्जालमा एक अर्कालाई घोचपेच गरेका दृश्य देखिएको छ । यता राज्यले बागमती किनाराका बस्ती हटाउन गरेको कार्यको विरुद्धमा सघर्षभा उत्रिएका आन्दोलनकारीहरुले सरकारले आफूहरुका लागि उचित बैकल्पिक व्यवस्था गरे बागमती किनाराबाट आफैले आफ्नो बस्ती हटाउन सहयोग गर्ने बताउछन् ।