काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले अर्ध-औपनिवेशिक अवस्थामा रहेको हाम्रो देश संसदबाट एमसीसी सम्झौता पारित भएसँगै थप औपनिवेशीकरण भएको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी, बागमती प्रदेश समितिको संयोजनमा बुधबार सो पार्टीको केन्द्रीय कार्यालय,कपन, काठमाडौंमा नयाँ वर्ष २०७९ को शुभकामना आदान प्रदान तथा चियपान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कट्टेलले सरकार राम्रो काम गर्न सक्तैन, सरकार बनाउने र कानुन निर्माण गर्ने दायित्व बोकेको संसद आफ्नो काम गर्न सक्तैन , न्यायलय आफ्नो न्याय निरुपणको काम गर्न सक्तैन , प्रधान न्यायधीश बिरुद्धको महाअभियोग प्रस्ताव संसदमा दर्ता गर्ने तर त्यसलाई त्यत्तिकै छोडेर संसद अधिवेशन सकिनुले संसदीय व्यवस्था नेपालमा असफल भएकोले संसदीय व्यबस्थाको विकल्पको रुपमा रहेको नयाँ जनवादी गणतन्त्र स्थापनाको दिशामा अगाडि बढ्नु पर्ने विचार व्यक्त गर्नुभयो । हाम्रो पार्टी बाहिरका मान्छेहरुको निर्देशनमा नेपाल कम्युनिष्ट पार्टी कब्जा गरी अरुलाई बुझाउने उद्देश्यले केही व्यक्तिले गतिविधि गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले जसले जे गरेपनि नेपाल कम्युनिष्ट पार्टी कसैले कब्जा गर्नै योजना सफल हुदैन र नेपाल कम्युनिष्ट पार्टी हाम्रै रहन्छ, त्यसैले यसलाई सुदृढ बनाउन हाम्रो पार्टीका सबैले आ-आफ्नो ठाउँबाट लाग्नु पर्ने खाँचो औँल्याउनुभयो । उहाँले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नुभयो । सोही पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश समितिका सचिव एवं अखिल नेपाल ट्रेड युनियनका नेता राजकुमार थापाले सञ्चालन गर्नु भएको त्यस कार्यक्रममा उक्त पार्टीका उपाध्यक्ष आर.बी. भण्डारी, केन्द्रीय सचिवालय सदस्यहरु हरिदेव ज्ञवाली, खेमनारायण ढुंगाना , कृष्णहरि भट्ट र शारदा श्रेष्ठ , केन्द्रीय सचिवालय सदस्य तथा अखिल नेपाल किसान यूनियनका अध्यक्ष रत्नप्रसाद जोशी, केन्द्रीय सचिवालय सदस्य तथा अखिल नेपाल सांस्कृतिक युनियनका अध्यक्ष राजेश बान्तवा, केन्द्रीय सचिवालय सदस्य तथा अखिल नेपाल महिला युनियनकी अध्यक्ष शशिकला घिमिरे , केन्द्रीय सदस्य तथा पिपुल्स फोर्सका संयोजक दीपक थापा, केन्द्रीय सदस्यहरु शोभा सञ्जेल , उत्सुक कट्टेल, रचना शर्मा , जानुका सञ्जेल लगायतले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै नयाँ वर्ष २०७९ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु हुने नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमको अध्यक्षता गर्दै उक्त पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष अर्जुन कार्कीले २०७८ साल शुभारम्भ हुँदा लकडाउनको समस्या तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य एवं १ नं. प्रदेश समितिका अध्यक्ष नरेन्द्र बस्नेत र केन्द्रीय सदस्य कमल घिमिरेको निधनको दु:खद अवस्थाबाट शुरु भएपनि समय बित्दै जाँदा नेपाल कम्युनिष्ट पार्टीको एकताको दोश्रो राष्ट्रिय सम्मेलन सम्पन्न हुनु र पार्टीको सहायक संगठन पिपुल्स फोर्स गठन हुनु जस्ता सकारात्मक कार्य भएको बताउदै नयाँ वर्ष २०७९ को उपलक्ष्यमा सबैमा शुभकामना व्यक्त गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टीले क्रान्तिकारी नीति, विचार र कार्यक्रम तय गरी अगाडि बढेकोले यसको आवश्यकता र औचित्य अरु बढेको उहाँको भनाई थियो ।