महाधिवेशन सम्पन्न भएको ८ महिनापछि बल्ल आज नेकपा (माके)ले पदाधिकारीको टुङ्गो लगाएको छ । उक्त पार्टीको केन्द्रीय कार्यालय कोटेश्वर- पेरिसडाँडा , काठमाडौंमा आज बसेको स्थायी समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा २१ सदस्यीय पदाधिकारी चयन गरिएको बताइएकौ छ । विशेष महाधिवेशन नहुदासम्मका लागि रहने गरी चयन गरिएको सो पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा कृष्णबहादुर महरा , महासचिवमा देवप्रसाद गुरुङ, उप-सचिवमा वर्षमान पुन , शक्तिबहादुर बस्नेत , गिरिराजमणि पोखरेल , हरिवोल गजुरेल , जनार्दन शर्मा , पम्फा भुषाल र मात्रिकाप्रसाद यादव , सचिवमा दीनानाथ शर्मा, राम कार्की , लीलामणि पोखरेल, देवेन्द्र पौडेल, हितराज पाण्डे , हितमान शाक्य , गणेश साह , चक्रपाणि खनाल र डिलाराम आचार्य, तथा कोषाध्यक्षमा श्रीराम ढकाल चयन हुनुभएको जनाइएको छ ।
बरिष्ठ उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा चुनावी घोषणा-पत्र मस्यौदा समिति गठन
नेकपा (माके)को आजको स्थायी समितिको बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उक्त पार्टीको घोषणा-पत्र मस्यौदा तयारीका लागि बरिष्ठ उपाध्यक्ष नायायणकाजी श्रेष्ठको नेतृत्वमा देवप्रसाद गुरुङ, गिरिराजमणि पोखरेल , जनार्दन शर्मा , वर्षमान पुन , शक्तिबहादुर बस्नेत , गणेश साह, लीलामणि पोखरेल , हरि रोका , पर्शुराम तामाङ, पर्शुराम रम्तेल , अमृता थापा , कृष्णा चौधरी , भीमा ढुंगाना , जाकिर हुसेन र जगत सिम्खडा रहेको समिति निर्माण गरेको बताइएको छ । सत्ता गठबन्धनमा रहेका दलहरुको साझा घोषणा-पत्र निर्माणका लागि छलफल चलिरहेको बेला नेकपा (माके)ले आफ्नो छुट्टै घोषणा-पत्र मस्यौदा तयारीका लागि उक्त समिति निर्माण गरेको जनाइएको छ ।
अखिल (क्रान्तिकारी)को विवाद समाधानको जिम्मा प्रचण्डलाई
नेकपा (माके)को आजैको स्थायी समिति बैठकले सोही पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) भित्रको जारी विवाद समाधानका लागि अध्यक्ष प्रचण्डलाई जिम्मेवारी प्रदान गरेको जनाइएको छ । अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह पक्ष र उपाध्यक्ष पवन कार्की पक्ष बीच विवाद बढ्दै गएपछि त्यसले उग्र रुप लिएको थियो , जसका कारण उपाध्यक्ष पलन कार्की पक्षले पवन कार्कीकै नेतृत्वमा अखिल (क्रान्तिकारी)को समानान्तर समिति निर्माण गरी सञ्चालन गरिरहेको छ ।
यस अगाडि नेकपा (माके)ले आफ्नो विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) भित्रको विवाद छानविन गरी प्रतिवेदन पेश गर्न सोही संगठनका पूर्व अध्यक्षहरु रमेश मल्ल, रत्न ढकाल र नरेन्द्र न्यौपाने रहेको समिति निर्माण गरेको थियो । सो समितिले आफ्नो प्रतिवेदन नेकपा (माके)का अध्यक्ष प्रचण्डलाई बुझाएको बताइएको थियो ।