ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटको पिपुल्स फोर्सको अध्यक्षमा उत्सुक कट्टेल र उपाध्यक्षमा जीवन्द्र निलगगन चयन हुनु भएको जनाइएको छ । शुक्रबार काठमाडौंमा बसेको पिपुल्स फोर्सको केन्द्रीय समितिको बैठकले उक्त फोर्सको अध्यक्षमा उत्सुक कट्टेललाई र उपाध्यक्षमा जीवन्द्र निलगगनलाई चयन गर्ने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष रामबहादुर भण्डारीले अलगपथलाई बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष एके कार्की र केन्द्रीय सदस्य सानो यामबहादुर थापाको समेत उपस्थिति रहेको उक्त बैठकले मुलुकमा जनताको जीवन कष्टकर हुने गरी अत्यधिक बढेको मुल्य बृद्धि , भ्रष्टाचार , कालोबजारी नियन्त्रण गरी जनजीवन सहज बनाउन सरकारसँग माग गरेको छ । त्यस बैठकले किसानलाई आवश्यक पर्ने मल बीउ समयमै सुपथ मुल्या खरीद गर्न सक्ने गरी उपलब्ध गराउन. किसानलाई अनुदानको व्यवस्था गर्न र किसानले उत्पादन गरेका कृषिजन्य सामाग्री बजारसम्म सहज ढंगबाट पु-याउन सक्ने गरी आवश्यक प्रबन्ध गर्न रोजगारी सिर्जना गर्ने गरी आवश्यक कार्य गर्न विभिन्न उद्योग तथा प्रतिष्ठान लगायतमा कार्यरत श्रमिकहरुलाई प्रदान गरिएको तलव अति न्युन भएकोले उनीहरुलाई जीवन धान्न कठिन भइरहेकोले उनीहरुको जीवन धान्न सहज हुने गरी तलव / ज्याला निर्धारण गर्न सरकार समक्ष अनुरोध गरेको छ । यस्तै बैठकले काठमाडौं उपत्यका सहितका शहरहरुको फोहोर लगायतका समस्याको दीर्घकालीन समाधानको लागि योजना निर्माण गरी कार्यान्वयन गर्न माग गरेको छ । बैठकले मुलुकले अवलम्वन गर्दै आएको असम्लग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धातलाई पालना गरी राष्ट्रको हितलाई ध्यानमा राखी वैज्ञानिक विधिद्वारा छिमेकी देशहरुसँगको सीमा समस्या समाधान गर्न , असमान सन्धि- सम्झौताहरु खारेज गर्न र कालापानी, लिपुलेक , लिम्पुवाधुरा सहित भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता लिन अविलम्व आवश्यक पहल नेपाल सरकारलाई आनुरोध गरेको बताइएको छ । महिला हिंसा लगायतका महिलाहरुका समस्या समाधान गर्न पनि बैठकले अनुरोध गरेको जनाइएको छ ।