गत आईतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देश सहित फिर्ता पठाएको नागरिकता पहिलो संशोधन विधेयक ,२०७९ लाई आज बसेको प्रतिनिधि सभाको बैठकले पुन: जस्ताको तस्तै पारित गरेको छ । १९५ जना सांसद उपस्थित रहेको प्रतिनिधि सभाको बैठकमा मत विभाजन गरी सो विधेयक पारित गरिएको थियो । मत विभाजन हुदा उक्त विधेयकको पक्षमा १३५ र विपक्षमा ६० मत परेको सभामुख अग्निप्रसाद सापकोटाले सो विधेयक माथिको मतदानको नतिजा प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्नु भएको थियो । मतदान हुनु अघि नेकपा (एमाले)का सांसदहरुले यो विधेयकमा राष्ट्रिय सहमती बन्नु पर्ने खाँचो औल्याउनु भएको थियो भने सत्ता गठबन्धनकै राजमोकी सांसद दुर्गा पौडेलले पनि यो विधेयक माथि गहिरो छलफल आवश्यक रहेको बताउनु भएको थियो तर सत्ता पक्षीय सांसदहरुले भने छलफलका लागि समय अभाव भएको बताउनु भएको थियो ।
यो विधेयकको समर्थन र विरोधका आवाज उठिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यो विधेयकलाई छोटो विधिबाट जस्ताकोतस्तै संसदबाट पारित गर्ने निर्णय गरेको बताइएको थियो । गत साउन ६ गते भने यो विधेयक ध्वनि मतका आधारमा पारित गरिएको थियो ।
यता आज यो विधेयकको नेपाल मजदुर किसान पार्टीले काठमाडौंमा विरोध प्रदर्शन गरेको थियो ।
उक्त विरोध कार्यक्रमलाई सम्बोधन गर्दै सोही पार्टीकी केन्द्रीय सदस्य तथा दोश्रो संविधान सभा सदस्य अनुराधा थापाले त्यस विरोध कार्यक्रमलाई सम्बोधन गर्दै यो नागरिकता विधेयक राष्ट्रको हितमा नरहेकोले यसलाई खारेज गर्नु पर्ने माग गर्नु भएको थियो ।
राष्ट्रपति कार्यालयबाट सन्देश सहित पुन छलफलका लागि सो विधेयक प्रतिनिधि सभामा पठाएपछि त्यसबारेमा राजनीतिक दलहरु तथा मानिसहरुले फरक-फरक धारणा व्यक्त गरेका थिए ।