भक्तपुर/ भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले पुन: सुनिल प्रजापतिलाई मेयर र रजनी जोशीलाई उप-मेयरमा उम्मेद्वार खडा गरेको छ । नेमकिपाको बलियो उपस्थिति भएको सो नगरपालिकामा २०७४ सालको निर्वाचनमा प्रजापति र जोशी भारी मतले मेयर र उप-मेयरमा विजयी हुनु भएको थियो भने यसपटक पनि प्रजापति र जोशीले मेयर र उप-मेयरमा बाजी मार्न सक्ने अवस्थालाई नकार्न नसकिने जानकारहरु बताउछन् ।
सो नगरपालिकाको मेयर र उप-मेयरमा नेपाली काग्रेस र नेकपा (एस)ले गठबन्धन गरी उम्मेद्वार खडा गरेका छन् भने नेकपा (एमाले) र नेकपा (माके) ले भने एकल उम्मेद्वारी दिएका छन् । नेपाली कांग्रेस र नेकपा (एस) गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका रामप्रसाद कासुला र उप-मेयरमा नेकपा (एस)का ओमचरण अमात्यले उम्मेद्वारी दिएका छन् । त्यस्तै नेकपा (एमाले)ले रविन्द्र लाछिमस्यूलाई मेयर र रञ्जना खर्बुजालाई उप-मेयरमा उम्मेद्वार बनाएको छ । त्यस्तै नेकपा (माके)ले मेयरमा तुलसीभक्त सुवाल र उप-मेयरमा इन्द्रमाया सुवाललाई उम्मेद्वार खडा गरेको छ । सो नगरपालिकामा सत्तारुढ दलहरु बीच गठबन्धन हुन नसकेपनि नेपाली कांग्रेस र नेकपा (एस) बीच गठबन्धन भएको थियो । उक्त गठबन्धन र नेकपा (माके)का उम्मेद्वारले मित्रवत प्रतिस्पर्धा गर्ने जनाएका छन् । सांस्कृतिक नगरको रुपमा परिचित तर भौगोलिक क्षेत्रफलको हिसावले अरु भन्दा सानो नगरपालिका हो । ऐतिहासिक र कलात्मक सांस्कृतिक सम्पदाले गर्दा पर्यटन गन्तव्य बनेको छ भक्तपुर ।
……………………………………………………………………..