मालेमावाद र नेपाली क्रान्ति

  • डा. भगवानचन्द्र ज्ञवाली

वर्तमान युगमा विश्वमा क्रान्ति र रूपान्तरणको नेतृत्व गर्ने एकमात्र पार्टी कम्युनिष्ट पार्टी नै हो । कम्युनिष्ट पार्टीलाई विचार र व्यवहारमा मागदर्शन गर्ने विचारधारा भनेको मार्क्सवाद, लेनिनवाद र माओवाद÷विचारधारा नै हो भन्ने कुरा हामी सबैलाई थाहा छ । तथापि हामीमध्ये धेरैलाई कम्युनिष्ट विचारधारा वा मालेमावादको वास्तविक अर्थ र प्रयोग के हो र यसका अङ्ग उपाङ्गहरू के हुन् भन्नेबारे राम्रो ज्ञान नहुनसक्छ । कतिपयलाई त मार्क्सवाद नै मार्क्सवाद लेनिनवाद माओवाद हो भन्ने समेतमा भ्रम हुनसक्छ किनभने कैयौं कार्यकर्ताको मालेमा सम्बन्धी ज्ञान अपूर्ण, अपर्याप्त र सतही रहेको पाइन्छ । मालेमावाद÷विचारलाई बुझ्न त्यसका भित्री तहसम्म पुग्नुपर्ने हुन्छ ।
मार्क्ससँग मिलेर कम्युनिष्ट विचारधाराको प्रथमतः प्रतिपादन र विकास गरिसकेपछि सन् १८४७ मा एङ्गेल्सले ‘द थ्योरी अफ कम्युनिजम’ भनी एउटा लेख तयार पारे । उनले कम्युनिजमलाई बडो सरल भाषामा यसरी परिभाषित गरेका छन् –‘कम्युनिजम भनेको सर्वहारा वर्गका मुक्तिका लागि पूर्वावश्यकताको सिद्धान्त हो ।’ यस संक्षिप्त परिभाषामा एङ्गेल्सले के व्यक्त गरेका छन् भने कम्युनिष्ट विचारधाराको सार भनेको श्रमजीवी वर्गले अन्तिम मुक्ति प्राप्त गर्न आवश्यक सिद्धान्त हो र त्यस्तो स्वतन्त्रता वा मुक्ति साम्यवादी समाज स्थापित गरेपछि मात्र सम्भव हुन्छ । त्यसै कुरालाई स्टालिनले क्रान्तिलाई प्रकृतिसँग जोड्दै यसरी व्यक्त गरेका छन्–‘मार्क्सवाद भनेको प्रकृति र समाज विकासलाई अनुशासित गर्ने विधि हो । दमित र शोषित जनसमुदायको क्रान्तिको विज्ञान हो । सम्पूर्ण देशहरूमाथि समाजवादी विजय हासिल गर्ने र साम्यवादी समाज निर्माण गर्ने विज्ञान हो ।’ यसरी स्टालिनले अझ अघि बढेर मार्क्सवादका व्यापक क्षेत्रतिरसमेत सङ्केत गरेको प्रष्ट हुन्छ ।
प्रथमतः यो विज्ञान हो, जसले समाज सम्बद्ध मात्र हैन प्रकृति सम्बद्ध प्रश्नको पनि उत्तर दिन्छ । त्यसैले मार्क्सवादलाई सर्वव्यापक विज्ञान हो भन्न सकिन्छ । दोस्रो कुरा – यो क्रान्तिको विज्ञान हो । यस्तो क्रान्ति विगतमा धनी बुर्जुवाहरूले गरेको पुँजीवादी क्रान्ति जस्तो नभएर यो गरीब श्रमजीवी जनसमुदायले गर्ने क्रान्ति हो । तेस्रो कुरा- यो समाजवादी र साम्यवादी समाज निर्माण गर्ने विज्ञान हो । त्यसै विज्ञानलाई हामी यसको स्थापना र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने कार्ल मार्क्स, भ्लादिमिर इल्यिच लेनिन र माओत्सेतुङ्का नामसँग जोडेर मार्क्सवाद, लेनिनवावाद र माओवाद वा मालेमावादका नामले चिन्दछौं । यसलाई स्थापित र व्याख्या गर्नमा थप योगदान दिने अरु दुई जना महान् गुरुहरू एङ्गेल्स र स्टालिनलाई पनि हामी उनीहरूसँगै नाम लिन्छौं । एङ्गेल्स मार्क्सलाई मार्क्सवाद प्रतिपादन गर्नमा अत्यन्त नजिकबाट सहयोग गर्ने र मार्क्सको मृत्युपछि त्यसको थप विकास गर्नमा महत्त्वपूर्ण भूमिका निर्बाह गर्ने मार्क्सका घनिष्ट मित्र हुन् भने स्टालिन लेनिनका मृत्युपछि मार्क्सवाद र लेनिनवादको रक्षा र थप समृद्ध पार्नमा महत्त्वपूर्ण भूमिका निर्बाह गर्ने व्यक्ति हुन् । मार्क्सवादको मूलपक्ष भनेको द्वन्द्वात्मक भौतिकवादी दर्शन र ऐतिहासिक भौतिकवादको खोजी हो । मार्क्सवादको राजनीतिक अर्थशास्त्रले पुँजीवादी गतिविधिको नियम र त्यसको अन्तर्द्वन्द्व तथा श्रमिकका शोषणको आधार बनेको अतिरिक्त मूल्यका सिद्धान्तलाई प्रकाशमा ल्यायो । यसरी मार्क्सवाद भनेको वर्ग सङ्घर्षमा आधारित वैज्ञानिक समाजवादको सिद्धान्त र सर्वहारा वर्गको वर्ग सङ्घर्षका विधिलाई निर्धारण गर्ने सिद्धान्त हो ।
लेनिनवाद साम्राज्यवाद र सर्वहारा क्रान्तिको मार्क्सवाद हो । यो रुसी क्रान्तिको विकासका सन्दर्भमा विकसित भएको हो । त्यसबेला लेनिनले दोस्रो इन्टरनेशनलको अवसरवादका विरुद्ध लड्दै तेस्रो इन्टरनेशनल मार्फत अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई अघि बढाएका थिए । मार्क्सवादको प्रतिरक्षा र विकास गर्दा लेनिनवादले साम्राज्यवादका अधीनमा पुँजीवादका गतिविधि र त्यसले साम्राज्यवादी शक्तिलाई अनिवार्यतः युद्धसम्म कसरी धकेल्छ भन्ने नियम पत्ता लगायो । साथै बुर्जुवा जनवादी क्रान्ति कालमा सर्वहारा वर्गीय क्रान्तिका सिद्धान्त र व्यवहारको गुणात्मक विकाससँगै समाजवादी क्रान्तिको खोजी ग-यो । यसले सर्वहारा अधिनायकत्वबारे स्पष्ट बोध, समाजवादी संरचना सम्बन्धी प्रथम नियम अनि जातीय आन्दोलन र उपनिवेशहरूमा पीडित जनताका आन्दोलनको सिद्धान्त र मार्गदर्शन गरेको छ र ती जातीय मुक्ति आन्दोलनहरूलाई विश्व समाजवादी क्रान्तिसँग जोडेको छ । अनि नयाँ प्रकारको लेनिनवादी पार्टीको साङ्गठनिक सिद्धान्त प्रतिपादन गरेको छ । लेनिनवादको रक्षा र विकास गर्दा स्टालिनले खास गरेर समाजवादी निर्माणका अवधिमा शासन व्यवस्था सम्बन्धी नियम र सिद्धान्तमा योगदान पु-याएका छन् ।
माओवाद÷विचार वर्तमान युगका सन्दर्भमा मार्क्सवाद र लेनिनवादको विकास र विस्तार हो । चिनियाँ क्रान्तिका यात्रामा, समाजवादी निर्माणका प्रक्रियामा, आधुनिक संशोधनवादका विरुद्ध लड्ने क्रममा र विशेषतः महान् सर्वहारवादी साँस्कृतिक क्रान्तिकालमा माओत्सेतुङ्ले यसको विकास गरेका हुन् । माओको थप योगदान भनेको अन्तर्विरोधको सिद्धान्त, जनताबाट जनतामा भन्ने मास लाइनको ज्ञान र त्यसलाई सूत्रबद्ध गर्ने सिद्धान्तको प्रतिपादन, नौलो जनवादको सिद्धान्त, उपनिवेश र अर्ध- उपनिवेशहरूका लागि क्रान्तिको बाटो सूत्रबद्ध गर्ने काम र क्रान्तिका तीन जादूगरी हतियार–क्रान्तिकारी पार्टी, जनसेना र संयुक्त मोर्चालाई सूत्रबद्ध गर्ने काम पनि हो । त्यसका साथै माओवाद÷विचारधाराले दीर्घकालीन जनयुद्धको सिद्धान्त र सैनिक कल्याणको सिद्धान्तको विकास गरेको छ ।
माओले दुई लाइनको सङ्घर्षको ज्ञानद्वारा सर्वहारा पार्टीको साङ्गठनिक सिद्धान्तको विकास, आलोचना आत्म–आलोचनाद्वारा पार्टीको आन्तरिक परिशोधन, सोभियत चिनियाँ अनुभवका आधारमा समाजवादी राजनीतिक अर्थशास्त्रको विकास र समाजवादमा सङ्क्रमणका प्रक्रियामा अन्तर्विरोधलाई ठीक ढङ्गले सञ्चालनका रूपमा समाजवादी निर्माण प्रक्रियामा द्वन्द्ववादी बुझाइको विकास गरेको छ । अनि अर्काे महत्त्वपूर्ण कुरा अन्त्यतः समाजवादलाई सुदृढ गर्न सर्वहारा वर्गको अधिनायकत्वमा क्रान्तिलाई निरन्तर जारी राख्ने व्यवहार र सिद्धान्तको विकास गरेको छ । साथै त्यसले आधुनिक संशोधनवाद र पुँजीवादको पुनस्र्थापनाका विरुद्ध लड्ने सिद्धान्त र व्यवहारको पनि विकास गरेको छ । त्यसको ठोस अभिव्यक्ति सर्वहारावादी महान् साँस्कृतिक क्रान्तिमा भएको देख्न सकिन्छ । यसरी मार्क्सवाद, लेनिनवाद र माओवाद÷विचार पृथक् विचारधार नभएर उही एउटै विचारधाराको निरन्तर विकास र समृद्धि हो भन्ने कुरामा कुनै विवाद रहँदैन ।
अब नेपाली सन्दर्भमा मालेमावाद÷विचारको व्यावहारिक प्रयोग कसरी गर्ने र क्रान्ति सम्पन्न गर्नाका साथै प्रतिक्रान्तिबाट त्यसको रक्षा र समृद्धीकरण कसरी गर्न सकिन्छ भन्ने कुरा नै अहिलेको गम्भीर प्रश्न बनेर हाम्रा साम्ने तेर्सिएको छ । २००६ सालमा नेकपाको स्थापना भएपछिका यी ७५ वर्षहरूमा हामीले केके ग-यौं र अब के गर्न बाँकी छ भन्ने यसभित्रको मूल आशय हो ।
नेपालमा कम्युनिष्ट पार्टीको स्थापना राणाकालीन समयमा भएको थियो । नेपालमा सर्वप्रथम माओवादको आवश्यकता र औचित्यप्रति कमरेड किरणका नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (मशाल) ले जोड दिएको थियो र नेपाली क्रान्तिको पथप्रदर्शक सिद्धान्तका रूपमा मार्क्सवाद लेनिनवाद माओवादप्रति प्रतिवद्धता जनाएको थियो । मालेमावाद÷विचारधाराको नयाँ जनवादी क्रान्ति, क्रान्तिका तीन जादूगरी हतियार– देशभक्तसँगको संयुक्त मोर्चा, जनसेना र सशस्त्र सङ्घर्ष नेपाली क्रान्तिका आधारभूत पक्ष हुन् । नेपालको विशिष्ट स्थितिमा अब सशस्त्र सङ्घर्षको स्वरूप के हुने र कसरी कस्तो हुने भन्ने विषयमा बहस र छलफल हुन जरुरी छ । २०४१ मै नयाँ जनवाद र दीर्घकालीन जनयुद्धको प्रस्ताव पारित गरेपनि २०५२ देखि सुरु भएको कथित जनयुद्धलाई निष्कर्षमा पु-याउने हिम्मत हराएका नेतृत्वले पछिल्लो समयमा साम्राज्यवादीहरूका इसारामा दक्षिणपन्थी संशोधनवादी नीति अँगालेर नेपाली जनवादी क्रान्तिलाई पथभ्रष्ट पारेर नियोजित रूपमै समाप्त पा-यो र जनता र क्रान्तिलाई गम्भीर रूपमा विश्वासघात ग-यो ।
अब नेपाली जनताले पुनः नयाँ जनवादी क्रान्तिलाई पूरा गर्नु इतिहासका सन्दर्भमा एउटा कर्तव्य बनेको छ । त्यसो गर्न हामीले हाम्रा देशको समाज र अर्थ व्यवस्थाको अध्ययन गर्न आवश्यक हुन्छ । नयाँ जनवादी क्रान्ति प्रथमतः उत्पादनका आर्थिक आधारहरूको भौतिक रूपान्तरण न्यायिक, राजनीतिक, कलात्मक वा दार्शनिक र संक्षेपमा वैचारिक रूपमा प्रकृति विज्ञानको प्रामाणिकता सहित गर्नु आवश्यक छ । समाजवादी क्रान्ति सामाजिक क्रान्तिको उत्कृष्ट रूप हो ,जसले साम्यवादमा फड्को मार्न आधार तयार गर्छ । नयाँ जनवादी (बुर्जुवा) क्रान्तिभन्दा भिन्न यस क्रान्तिले अन्त्यतः मानिसद्वारा गरिने मानिसको शोषणका समस्त रूपको सकारण उन्मूलन गर्ने प्रक्रिया सुरु गर्छ । त्यति मात्र हैन- समाजवादी क्रान्तिले त सामाजिक उत्पादनमा बुर्जुवा आधिपत्य, जातीय उत्पीडन, वर्गवर्गका बीच, सहर र गाउँका बीच अनि बौद्धिक र शारीरिक श्रमिकका बीचको अन्तर्विरोधको पनि अन्त्य गर्छ । लेनिनले आफ्नो (सम्पूर्ण रचना खण्ड ३६ को १७१ पृष्ठ) रचनामा यस्तो क्रान्ति सर्वप्रथम बहुसङ्ख्यक श्रमजीवी जनताको सिर्जनात्मक र स्वतन्त्र ऐतिहासिक भूमिकाद्वारा मात्र सफलतापूर्वक सम्पन्न हुनसक्ने बताएका छन् । नेपाली समाजको सटीक विश्लेषण, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण, क्रान्तिका तीन जादुगरी हतियोर, वलपूर्वक सत्ताको प्राप्तिको अवधारणा जस्ता कुरालाई नेकपाले छोडेको छैन । पार्टीभित्र यदाकदा वरिष्ठता र कनिष्ठता, क्षमता र अक्षमता, सक्रियता र निष्क्रियता आदि प्रश्न पनि उठ्ने गरेका छन् ।
लेनिनले सत्ता प्राप्ति समाजवादी क्रान्तिका लागि समाजको क्रान्तिकारी रूपान्तरणको थालनी मात्र हो भनेका छन् (उही) । समाजवादी क्रान्ति मालेमाको सिद्धान्त निर्देशित नियमका आधारमा परिचालित हुन्छ । यो क्रान्ति एक विवेकशील, कठिन र जटिल विज्ञान हो (ऐ) । सत्ताधारी वर्गलाई पनि पुरानो तरिकामा परिवर्तन नल्याएसम्म टिकिराख्न कठिन हुन्छ । सत्तासीन वर्ग र उत्पीडित वर्ग बीचको अन्तर्विरोधको तीव्रता र सचेत जनसमुदायमा राजनीतिक सक्रियतामा असाधारण बृद्धि हुनु आवश्यक छ । क्रान्ति होला भनेर पर्खिने होइन कि क्रान्तिकारीले विद्यमान परिस्थितिलाई धक्का दिएर सिद्धान्त अनुकूल परिवर्तन गर्नतिर लाग्नु पर्छ । आत्मपरक र वस्तुपरक अवस्था अनुकूल बनाउन सकेमा क्रान्ति सफल हुन्छ । उत्पादन सम्बन्धमा परिवर्तन ल्याउने काम श्रमजीवी मजदुर वर्गको हो । त्यो वर्ग उत्पादन साधनमाथिको स्वामित्वबाट कतिहदसम्म वञ्चित छ भन्ने कुराले अन्तर्विरोधको निर्धारण गर्छ । के नेपालमा त्यो अवस्था छ ?
हाल हाम्रो समग्र राष्ट्रिय राजनीतिक वृत्त घोषित सिद्धान्त वा पद्धतिबाट निर्दिष्ट नभई पार्टी वा व्यक्ति स्वार्थ, लोभ, उच्चताबोध वा हीनताबोधबाट ग्रसित छ त्यसैले मुलुकको खास एकनिष्ठ वैदेशिक नीति बन्न सकेको छैन । घरको तीर्थ हेला भन्ने भावनाले पनि त्यो प्रभावित छ । परमुखापेक्षी प्रवृत्तिले वामपन्थीहरूको आत्मचिन्तन नराम्रोसँग प्रभावित छ । अन्तर्मुखी भएर आफ्ना अन्तर्पक्षहरू केलाउने चेतना कम्युनिष्ट नेताहरूमा समेत जागृत भएको छैन । अनि आत्मगत योग्यता, क्षमता निर्माण गर्ने र आफैबाट समाजलाई आदर्श बाटो देखाउने प्रवृत्ति पनि नेताहरूमा छैन । त्यसैले समग्रमा क्रान्तिकारी राष्ट्रवादको जगेर्ना हुनसकेको छैन । एकीकरणका समयमा जस्तो वर्तमानमा राष्ट्र निर्माणमा समर्पित हुने एउटा विशिष्ट व्यक्तित्व वा पृथक् राष्ट्रिय शक्तिको निर्माण तत्काल आवश्यक भइसकेको छ । युगीन सन्दर्भमा पृथ्वीनारायण शाह, बहादुर शाह, महेन्द्र वा वीपी. कोइरालाका राष्ट्रवाद अफाप सिद्ध भइसकेका छन् । मूलतः सैद्धान्तिक बेइमानी र विचलन वर्तमान राजनीतिमा विकारको कारण बनेको छ । नवीन चेतनायुक्त नयाँ राजनीतिक सङ्गठनको निर्माण भएपछि मात्र विषकुम्भं पयोमुखं प्रवृत्तिको अन्त्य गर्दै र वर्तमान विसङ्गतिबाट मुक्ति पाउन सम्भव छ ।
मध्यकालका अन्त्यतिर युरोपमा पोप पादरीहरू आर्थिक नैतिक रूपले यति धेरै भ्रष्ट थिए कि एकातिर उनीहरू संसारका सबै सुख भोग गरिरहेका थिए भने अर्कातिर जनता भुखमरी, अभाव र रोगले असामान्य रूपमा पीडित थिए तथापि तिनको विरोध गर्ने हिम्मत कसैमा थिएन । उनीहरू आपसमै कतिसम्म परस्पर शङ्कालु थिए भने कुनै समारोहमा जानुपर्दा आफ्नै भान्से र निजी सहयोगी मात्र हैन पानीसमेत आफै बोकेर जाने गर्थे । त्यही हालत नेपालको पनि अहिले भएको छ । सञ्चार माध्यमबाट आवाज उठेका छन् तर कतै सुनवाइ छैन । बरु उल्टै तिनै सञ्चाकर्मीहरूलाई नै राज्यकोषबाट कलो बाँटेर मुख थुन्ने प्रयास भएको छ । अतः भ्रष्टाचार र अपराध कर्ममा चुर्लुम्म डुबेका कर्मचारीतन्त्र, पुलिस र नेताबाहेक तल्लो स्तरका कार्यकर्ता र सञ्चारकर्मीहरू समेत भ्रष्टाचारका आहालमा लडीबुडी खेलिरहेका छन् । सतर्कताको चौथो अङ्ग पनि जनता र राष्ट्रका समस्यासँग बेखबर छ । यस्तो चौतर्फी विनाशका अवस्थामा एक मात्र विकल्प मालेमावाद÷विचारधाराको जनतान्त्रिक अभ्यास नै हुनसक्छ ।
संशोधनवादी, नवसंशोधनवादी, सारसङ्ग्रहवादी र विसर्जनवादीहरूले आखिर जतिसुकै आरोप लगाएपनि अहिलेका परिस्थितिमा कथित वाम एकीकरणका विकल्पमा सशक्त क्रान्तिकारी शक्तिका रूपमा क. पुष्पलालकै नीतिअनुसार नेकपा को मूलधार पुनर्निर्माण गर्ने प्रक्रिया सुरु भएको छ । समयले कसैसँग पनि लामो प्रतिक्षा गर्दैन । अतः हामीले आत्मगत कमी कमजोरीहरूलाई निराकरण गर्दै देश, जनता र क्रान्तिलाई केन्द्रमा राखेर मालेमावाद÷विचारधाराको थप विकास गर्दै नयाँ जनवादी क्रान्तिद्वारा वैज्ञानिक समाजवादको स्थापनाका लागि शीघ्र पहल थाल्नु आवश्यक छ । यसै सन्दर्भमा सबै प्रकार विसङ्गतिबाट वाक्क भएका तर फेरि पनि नेपालमा क्रान्तिको आवश्यकता महसुस गर्ने सबै सक्रिय वा शिथिल कम्युनिष्टहरू नेकपामा एकढिक्का भएर क्रान्तिमा लाग्नु आवश्यक देखिन्छ । विचार वा दर्शन व्यवहारमा रूपान्तरण भएपछि मात्र शक्तिमा परिणत हुन्छ । दर्शनलाई आचरणमा नढालेसम्म त्यसका ज्ञानको कुनै महत्व हुँदैन । नेपाली क्रान्तिलाई अघि बढाउने सन्दर्भमा नेता र कार्यकर्ताले मालेमावाद÷विचारलाई इमान्दारीपूर्वक दैनिक जीवनको अभिन्न अङ्गका रूपमा अभ्यास गर्न अति आवश्यक छ । चरित्र नभए विचार व्यवहारमा परिणत हुँदैन र विचार शक्तिमा परिणत हुँदैन । अस्तु ।

(डा.ज्ञवाली नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा स्कुल विभाग प्रमुख हुनुहुन्छ । लामो समयसम्म उहाँले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नु भएको थियो ।)


Leave a Reply

Your email address will not be published. Required fields are marked *