राष्ट्रपति पौडेलबाट सपथ लिएसँगै नविनयुक्त मन्त्रीहरुद्वारा पदभार ग्रहण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको मन्त्रीपरिषद बिस्तार गर्नु भएको छ । नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुले भब्य समारोहका बीच राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेपछि आ-आफ्नो मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभयो ।

आज बिस्तार भएको सो मन्त्री परिषदमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेकपा (माके)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ गरी २ उपप्रधानमन्त्री बन्नुभएको छ । खड्का उपप्रधानमन्त्री सहित रक्षा र आजसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री श्रेष्ठलाई उक्त मन्त्रालयको सट्टा गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ । यो मन्त्रीपरिषदमा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतलाई अर्थ तथा नेता रमेश रिजाललाई उद्योग, बाणिज्य तथा आपूर्ति र सीता गुरुङलाई शहरी विकास मन्त्रालय , नेकपा (माके)का उपमहासचिव शक्तिबहादुर बस्नेतलाई उर्जा , जलश्र‍‍‍‍ोत तथा सिञ्चाई मन्त्रालय , जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता अशोककुमार राईलाई शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालय , नेकपा (एस)का उपाध्यक्ष डा.बेदुराम भुसाललाई कृषि तथा पशुपञ्छी र उपमहासचिव प्रकाश ज्वालालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय , लोसपाका नेता शरतसिंंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालय र नेसपाका अध्यक्ष महिन्द्र राय यादवलाई महिला , बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी नेकपा (माके)का तर्फबाट मन्त्री बनेका रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री , सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री , अमनलाल म‍‍ोदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र सुशिला सिर्पाली ठकुरीलाई संस्कृति , पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

नेपाली कांग्रेसका ४ र जसपाका १ मन्त्री नियुक्त हुन बाँकी

प्रचण्ड नेतृत्वको मन्त्रीपरिषदमा नेपाली कांग्रेसलाई ८ र जसपालाई २ र आम आदमी पार्टीलाई १ मन्त्री पर्ने गरी भागबण्डा गरिएको भनेर समाचार सार्वजनिक भएपनि आज बिस्तार भएको मन्त्रीपरिषदमा नेपाली कांग्रेसका ४ र जसपाका १ जना मात्रै मन्त्री बने भने आम आदमी पार्टीका कोही पनि मन्त्री बनेनन् । नेपाली कांग्रेसको शेखर – गगन समूहले आफ्नो समूहलाई ३ मन्त्री दिनु पर्ने अडान राखेकाले अन्तिम समयमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डलाई ४ जनाको मात्रै नाम दिएको बताइएको छ ।

उद्योग मन्त्रालय नपाउने भएपछि जनमत पार्टी सरकारबाट बाहिरियो

१ राज्यमन्त्री सहित उद्योग मन्त्रीको दावी गर्दै आएको जनमत पार्टीले सो मन्त्रालय नपाउने निश्चित भएपछि सरकारबाट बाहपरिएको छ । खानेपानी मन्त्रीको जिम्मेवारी बहन गरिरहेका उक्त पार्टीका उपाध्यक्ष अब्दुल खानले प्रधानमन्त्री प्रचण्ड समक्ष आज खानेपानी मन्त्री पदबाट राजीनामा दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *