लोकनारायण सुबेदी सहित ३ नेता नेपाल कम्युनिष्ट पार्टीबाट निस्कासित

काठमाडौं/ यही फागुन ३ गते बसेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालयको बैठकले खुल्ला रुपमा पार्टीको हित विपरीत गतिविधि गरेको ठहर गर्दै सो पार्टीका उपाध्यक्ष लोकनारायण सुबेदी तथा केन्द्रीय सचिवालय सदस्यद्वय शरण विक्रम मल्ल र महेन्द्र जोशीलाई पार्टी सदस्य समेत नरहने गरी निस्कासन गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलको अध्यक्षतामा सोही पार्टीको केन्द्रीय कार्यालय कपनमा बसेको त्यस बैठकले यस अगाडि त्यसै पार्टीको केन्द्रीय कार्यालयले केन्द्रीय सचिवालय सदस्य राजेश बान्तवा अध्यक्ष तथा केन्द्रीय सचिवालय सदस्यद्वय रामबहादुर भण्डारी र हरिदेव ज्ञवाली सदस्य रहने गरी गठन गरेको ३ सदस्यीय जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनको आधारमा उहाँहरुलाई निस्कासन गरेको बताइएको छ । यसैगरी त्यसै बैठकले नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक २०७८ फागुन २१ र २२ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ । बैठकले नेपाल कम्युनिष्ट पार्टी सहितको ६ कम्युनिष्ट पार्टी र २ मोर्चाको आह्वानमा भइरहेको राष्ट्रघाती एमसीसी (MCC) सम्झौता विरोधी आन्दोलनलाई उचाईमा पु-याउने आफ्नो तर्फबाट पहल र प्रयत्न गर्ने निर्णय गरेको जनाइएको छ ।

उक्त बैठकले केन्द्रीय सचिवालय सदस्यत्रय रत्नप्रसाद जोशीलाई अखिल नेपाल किसान यूनियनको इञ्चार्ज , हरिदेव ज्ञवालीलाई पार्टीको लुम्विनी प्रदेश समितिको इञ्चार्ज र सत्यनारायण मुखियालाई पार्टीको मधेश प्रदेश समितिको इञ्चार्जको जिम्मेवारी प्रदान गर्नुका साथै केन्द्रीय सचिवालय सदस्य कृष्णहरि भट्टराई पार्टीको संगठन विभागको प्रमुख तथा केन्द्रीय समिति सदस्यद्वय अर्जुन कार्कीलाई पार्टीको बागमती प्रदेश समितिको अध्यक्ष र सतिलाल चौधरीलाई पार्टीको १ नं. प्रदेश समितिको अध्यक्षको जिम्मेवारी दिएको सोही पार्टीको केन्द्रीय कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *