काठमाडौं/ स्थानीय तहको निर्वाचनको विषयले विप्लव नेतृत्वको नेकपा विभाजन भएको छ । सो पार्टीका महासचिव विप्लवको अध्यक्षता र प्रवक्ता प्रकाण्ड सहितका नेताहरुको उपस्थितिमा आज बिहान कपिलवस्तुको शिवगढीमा बसेको सो पार्टीको बैठकले पार्टीका नेताद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई कारवाही गरेसँगै उक्त पार्टीमा विभाजनको रेखा कोरिएको देखिएको छ । यता कारबाहीमा परेका नेताद्वय सुदर्शन र कञ्चनले केन्द्रीय सदस्यहरुसँग छलफल गरेर मात्रै उपर्युक्त निर्णय गर्ने योजना रहेको बताइएको छ । नेताद्वय सुदर्शन र कञ्चनले केन्द्रीय समितिमा बहुमत पु-याएर विप्लवलाई त्यस पार्टीको महासचिवबाट हटाउने गरी कार्य गरिरहेको जानकारहरु बताउछन् ।
आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि विभिन्न पालिकाका विभिन्न पदमा आफ्नो पार्टीको केन्द्रीय समितिको निर्णय विपरीत आफ्ना पार्टीका नेता कार्यकर्ताहरुले उम्मेद्वारी दिएकोप्रति आपत्ती जनाएर उनीहरुलाई सो उम्मेद्वारी फिर्ता लिन आग्रह गरी हिजो नेता कञ्चनले प्रेस विज्ञप्ति जारी गर्नु भएको थियो । उहाँले आफ्नो कार्यक्षेत्र बाहिर गएर प्रेस विज्ञप्ति जारी गरेकोले स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी दिने पक्षमा उभिएका महासचिव विप्लव सहितका नेताहरुको बैठकले नेताद्वय सुदर्शन र कञ्चनलाई कारवाही गरेको समाचार श्रोतले जनाएको छ ।