ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले ऐन र नियमको पालना नगरेका १० वटा सहकारी संस्थाको दर्ता खारेज गरेको ललितपुर महानगरपालिकाले त्यस्तै थप २६ वटा सहकारी संस्थाको दर्ता खारेज गर्न लागेको बताउनुभएको छ । ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मंगलबार ललितपुरमा ६६औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति, ललितपुरको आयोजनामा सम्पन्न “नेपालको बर्तमान अर्थतन्त्र र सहकारी क्षेत्रमा प्रभाव” विषयक जिल्ला स्तरीय गोष्ठीमा आफ्नो विचार व्यक्त गर्दै उहाँले हामीले नयाँ सहकारी संस्थाको दर्ता र सहकारी संस्थाको कार्यक्षेत्र बिस्तार र सेवाकेन्द्रको स्वीकृति दिएका छैनौै तर सहकारीको विकास र प्रवर्द्धनमूलक कार्यमा भने ललितपुर महानगरपालिकाको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहकारी विभाग आदेशमूलक , राष्ट्रिय सहकारी महासंघ प्रेस विज्ञप्तिमूलक , प्रदेश बोधार्थमूलक र हामी स्थानीय तह कार्ययमूलक रहेको भन्दै उहाँले ‘संघ र प्रदेशले सहकारी नियमनको जिम्मेवारी हामी स्थानीय सरकारलाई दिए हामी त्यो जिम्मेवारी राम्रो सँग पूरा गर्न सक्छौं’, भन्नुभयो । उहाँले ‘हचुवाका भरमा सहकारी संस्थाहरुलाई जथाभावी कार्यक्षेत्र विस्तार र सेवाकेन्द्रको स्वीकृति दिदा र सहकारी संस्था दुर्घटना गराउने सुधीर बस्नेतहरुबाट बेलैमा पाठ नसिक्दा सहकारीमा समस्या उत्पन्न भएको र त्यसको जिम्मेवारी मोटो खाम बोकेर हिड्ने नियमनको अधिकार पाएका व्यक्तिहरुले लिनु पर्ने भन्दै सहकारीको यति राम्रो बगैँचामा त्यस्तो ठूलो समस्या केही भएको छैन , यसका केही पात पहेला भएका र केही पात मक्किएका मात्रै हुन् । त्यसैले अहिले नै पनि त्यस्तो बिग्रीहालेको छैन ‘, भन्नुभयो । सहकारीमा मात्रै समस्या नभएको भन्दै लर्निङ कोअपरेटिभ ल्याब (Learning Cooperative Lab) आवश्यक रहेको उहाँको भनाइ छ ।





