काठमाडौंको डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा यही मंसिर १७ गते शनिबार एक दिवसीय सहकारी शिक्षा कार्यक्रम सम्पन्न भयो ।

सोही संस्थाका अध्यक्ष मुकुन्दराज खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मन्तव्य व्यक्त गर्दै राष्ट्रिय सहकारी विकास बोर्डका भूतपूर्व निर्देशक शिवप्रसाद घिमिरेले सुशासनमा चलेका सहकारी संस्थाहरु सफलतापूर्वक अगाडि बढेका उदाहरण प्रस्तुत गर्दै सुशासनमा चल्न सकेमा सहकारी अभियान सफलताका साथ अगाडि बढ्नेमा विश्वस्त हुदै वचन साकोस यही पथमा लम्किरहन सकोस् भनी कामना गर्नुभयो ।

सो कार्यक्रमको अध्यक्षता गर्दै त्यसै संस्थाका अध्यक्ष खनालले हाम्रो यो संस्था सुशासनमा रहेर सञ्चालन भइरहको छ भन्दै यस संस्थामा नियमित रुपमा कारोबार गर्नुका साथै आफूसँग भएका स-सानो रकमलाई पनि यस संस्थामा नियमित रुपमा बचत गरी आफ्नो भविष्य सुरक्षित गर्न सबै शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो । उहाँले अहिले विद्यमान आर्थिक संकट निवारण गर्नको लागि अल्पकालीन र दीर्घकिलीन योजनाहरु सहित संस्थाको समग्र अवस्था बारे प्रकाश पार्नुभयो । उक्त संस्थाको शिक्षा उप-समितिका सदस्य कृष्णप्रसाद डंगोलले सञ्चालन गर्नुभएको त्यस कार्यक्रममा सो संस्थाका शिक्षा उप-समितिका संयोजक सुरेश धिमालले मन्तव्य व्यक्त गर्दै सहकारी संस्थामा यस प्रकारका शिक्षा र तालिम नियमित रुपमा सञ्चालन गर्न सकिएमा संस्थामा सुशासन कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौंको डिल्लीबजारस्थित इचिवन मल्टिपर्पोज भेन्यूमा

सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै सो संस्थाका प्रबन्ध निर्देशक तथा सहकारी विज्ञ डा. देशमर्दन बस्न्यातले सहकारी संघ/संस्थामा सहकारी शिक्षा र तालिमको आवश्यकता र महत्वको बारेमा प्रकाश पार्नुभयो । सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति र उप-समितिका पदाधिकारी तथा सदस्यहरु एवं कर्मचारीहरु सहित ५५ जनाको सहभागिता रहेको त्यस कार्यक्रममा संस्थाका प्रबन्ध निर्देशक डा. बस्न्यातले व्यक्त गरेको विचार यस प्रकार छ ।
व्यापारिक सोच र सामाजिक मन भएका व्यक्ति तथा समूहहरु सहकारीको सदस्य हुन सक्छन् । सहकारीमा काम गर्ने कर्मचारीहरुमा समेत त्यस किसिमको परिकल्पना , सबैसँग सहमत हुने गरी कार्य गर्न र साच्चिकै सहकारीको कर्मचारी बन्न तयार हुने हो भने कर्मचारीले समेत सहकारी अभियानको मुल्य , मान्यता र अस्तित्वलाई आत्मसाथ गर्नु जरुरी छ । सहकारीका सदस्यहरु तथा सहकारीमा रोजगारीको लागि प्रवेश गर्ने व्यक्तिले सहकारीमा प्रवेश गर्नासाथ सहयोगी बनेर सहकारीताको परिकल्पना अनुरुप सञ्चालक समिति , शेयर सदस्यहरू र कर्मचारी बीचमा सामञ्जस्यता कायम गरेर कार्य गर्न सक्नुपर्दछ । प्राथमिक सहकारीको संरचना अनुरुप सञ्चालक समिति , शेयर सदस्य र कर्मचारी सहकारीका मेरुदण्ड हुन् र तिनको अथक प्रयत्नले मात्र सहकारी संस्थामा सुशासन कायम हुन सक्दछ । उनीहरुको सहकारीमा महत्वपूर्ण भूमिका रहन्छ । मेरो अनुभव अनुसार सहकारी संस्था सञ्चालनको लागि साधारण सभाको अनुमतीले संस्थाको व्यवस्थापकको नियुक्त गर्ने र उसको तलव तथा सेवा सुबिधा निर्धारण गर्ने हुदा व्यवस्थापकले समेत त्यसको प्रतिनिधित्व गर्न सकेमा संस्थामा अरु समस्याहरुको न्युनिकरण हुदै जान्छ । व्यवस्थापक र सञ्चालक समिति बीच एकापसमा दोषारोपण गर्न लाग्नु भन्दा संस्थाको साधारण सभाले एक आर्थिक वर्षका लागि तय गरेका नीति तथा कार्यक्रम कार्यान्वयन भयो कि भ एन भनेर हेर्ने र त्यसको कार्यान्वयनको नेतृत्व गर्ने हो ।
सहकारीलाई संसारमा व्यवसायिक मोडेलको रुपमा आत्मसाथ गरिरहेको अवस्थामा अन्तर्राष्ट्रिय सहकारी महासंघका अनुसार विश्वभर ८० करोड भन्दा बढी मानिसहरु सहकारी अभियानमा समर्पित भइरहेको अवस्थामा नेपालमा सहकारी अभियान आफ्नै ढंगबाट प्रयोग भइरहेको देखिन्छ । यसको विकास र प्रवर्द्धनका लागि तालिमहरुबाट अभ्यास गर्ने , विद्यालय , महाविद्यालय र विश्वविद्यिलयमा सहकारी सिद्धान्त , कार्यक्रम र यसको परिकल्पना अनुरुप देश सुहाउदो सहकारीको पाठ्यक्रम विकास गरी विद्यार्थीहरु माझ जान सके हाम्रो जस्तो विकासोन्मुख देशमा सहकारी अभियान कोशेढुङ्गा सावित भई देशको अर्थतन्त्रलाई कुनै पनि किसिमको संकट आई परेमा त्यसको समाधान गर्न सक्ने क्षमता सहकारी शिक्षाको माध्यमबाट हुन सक्दछ । त्यसको ज्वलन्त उदाहरणको रुपमा रुस र रुवाण्डाको सहकारी अभियानलाई लिन सकिन्छ । सन् १८६० को दशकमा रुसमा शुरु भएको सहकारी अभियान सन् १९१७ मा आइपुग्दा त्यहाँ ६३ हजार प्रारम्भिक सहकारी संस्था निर्माण भई त्यसमा २४ मिलियन सदस्यहरु आवद्ध भई सहकारी अभियान मार्फत उनीहरुले रुसको सामाजिक तथा सांस्कृतिक क्षेत्रमा योगदान गरेको देखिन्छ । त्यसैगरी गृह युद्ध भएको रुवाण्डाको शान्ति, विकास र समृद्धिमा सहकारीको महत्वपूर्ण योगदान रहदै आएको छ । युरोपमा युद्धपछिको अवधिमा शान्तिपूर्ण राष्ट्र विकासका लागि हकारी महत्वपूर्ण औजार बनेको छ ।
वि.सं.२०१३ सालमा चितवनमा बखान सहकारी संस्थाको स्थापना भएसँगै नेपालमा शुरु भएको आधुनिक सहकारी अभियान वि.सं. २०७२/०७३ मा आईपुग्दा नेपालमा ३५ हजार ५ सय जति सहकारी संघ/संस्थाहरु निर्माण भए तर पछिल्लो समय सहकारी एकीकरण अभियानको रुपमा अगाडि बढेकाले यतिबेला ३० हजार जति सहकारी संघ/संस्थाहरु सञ्चालनमा छन् । ७८ लाख भन्दा बढी मानिसहरु आबद्ध रहेको नेपालको सहकारी अभियानले १ लाख भन्दा बढी मानिसहरुलाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गरेको छ । नेपालको राष्ट्रिय अर्थतन्त्रमा टेवा पु-याएको सहकारी क्षेत्रले सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्रमा योगदान पु-याइरहेको छ । यसैले यतिबेला नेपालमा सहकारी अपरिहार्य बन्दै गएको छ ।