अस्तित्वको खोजी

  • डा.भगवानचन्द्र ज्ञवाली

भौगोलिक विभिन्नताले मानिस विभिन्न रङ्ग, वर्ण तथा अनेक संस्कृति र परम्परामा विभाजित छ । मेसोपोटामिया, नाइल, इन्दस (सिन्ध) र ह्वाङ्हो आदि विश्वका प्राचीन प्रमुख सभ्यता मानिन्छन् । प्रत्येक सभ्यताका आ-आफ्ना रीतिरिवाज, धर्म, संस्कृति र परम्परा छन् । अनि आफ्नै भाषा र भेष पनि छ । कतिपय मानवीय नियम, अनुशासन र मर्यादाहरू किञ्चित् अर्थमा समान भएपनि व्यवहारिक दृष्टिले प्रशस्त भिन्नता छन् । त्यसो हुँदाहुँदै पनि मानव जाति सृष्टिकै अनुपम उपलब्धि हो वा चाल्र्स डार्बिनका विचारमा प्रकृतिमा प्राणी वृक्षको उत्कृष्टतम फूल हो । यस कुराको पुष्टि मानिसको तर्क, चिन्तन र उत्सुक प्रवृत्तिले गर्दछ । उत्कृष्टता मानिसको महत्ता हो र प्राणी वर्गका विकासको परिणति हो । आफ्ना निय नूतन आवश्यकता परिपूर्तिका लागि नयाँ खोज र आविष्कार गर्न मानव क्षमताले जुन काम गरेर देखाएको छ त्यो विश्वस्रष्टा नै भएपनि गर्नसक्ने थिएन होला जस्तो लाग्छ । युरोपेली चिन्तक सात्र्रले १९ औं शथाब्दीमै ईश्वरका मृत्युको जुन घोषणा गरेका थिए, बेलायतका डाक्टर इयान बिल्मटका नेतृत्वमा कार्यरत वैज्ञानिहरूले गरेर देखाएको आश्चर्यजनक कामले त्यस कुराको पुष्टि गरेजस्तो लाग्छ । भेंडाको बच्चा डोली त यस विशाल ब्रह्माण्डका स्रष्टालाई चेतावनी जस्तै भएको छ । मानिसको यस उत्सुकतापूर्ण अवस्थामा यस्तो खोज मानिसका खुबीको चरमोत्कर्ष त भनी नहालौं (कतै त्यही क्लोनिङ् (संपुञ्जन) प्रविधिद्वारा वैज्ञानिकहरूले मानिस नै बनाइदिए भने) तर उसको सिर्जनशलि वा खोजमूलक क्षमताको उच्चतर उपलब्धि भने अवश्य मान्नुपर्छ ।
हो, मानिसले यति धेरै वैचारिक, बौद्धिक र खोजपूर्ण प्राप्ति त हासिल ग-यो तर उसभित्र अझै पनि एउटा भयङ्कर भूत (कबतबल–शैतान) अज्ञात रूपमै लुकिरहेको देखिन्छ र त्यो हो अहङ्कारजन्य जातीय घृणा । संसारमा आफ्ना श्रेष्ठताको विज्ञापन गर्दै एक जाति, सभ्यता, धर्म र परम्पराका मानिसहरू अन्य जाति, धर्म, संस्कृति र परम्पराका मानिसहरूमाथि निर्ममतापूर्वक आफ्नोपन लादिरहेका छन् । हरेक मानिसलाई आफ्नै इतिहास र परम्परा प्यारो छ र आफ्नैपनमा रम्न मन पराउँछ । अनि स्वभावैले ऊ सौन्दर्य उपासक पनि हुन्छ । युरोपमा मसिनको विकास र पुँजीवादको स्थापना भएपछि भने मानिसमा जीवनलाई अधिकतम मौलिक सुबिधातिर डो-याउँदै श्रम पलायन गर्ने प्रवृत्तिको होड चलेको छ र मानिस अहिले जीवनलाई बिर्सेर धनदौलत कमाउनमै व्यस्त छ । अत्यधिक व्यस्तताले प्रकृतिको रमणीय सौन्दर्यलाई नियालेर हेर्दै आनन्द लिने फुर्सद पनि छैन । मनोरञ्जनका तम्तयार साधनहरू छन् — रेडियो, सिनेमा, टिभी, अनलाईन नेटवर्क आदि र तिनले संसा्रको कुनै कुनामा घटेका घटना वा कार्यक्रम, विचार, शिक्षण, प्रशिक्षण आदिलाई आँखै अगाडि ल्याइदिन्छन् वा मस्तिष्कमा घुसाइदिन्छन् र डेनमार्कदेखि सिडनीसम्म र जापानदेखि होनोलुलुसम्म एउटै व्यापारक्षेत्र बनाइदिन्छन् । त्यसैले एक सभ्यताले अर्काे सभ्यता र संस्कृतिलाई प्रत्यक्ष प्रभाव पार्दछ । अहिले युरोपेली खुला, उदाङ्गिने संस्कार संस्कृति तिनै सञ्चार साधनहरूमार्फत् संसारभरि फैलिएको छ । युरोपलाई आधुनिकताको जन्मदाता मानेर त्यहाँका हरेक कुरा अनुकरणीय मान्दै अविकसित र विकासोन्मुखका मानिसहरू त्यहाँको छाडा संस्कृति र नग्न जीवनशैलीलाई हठात् स्वीकार गरिरहेका छन् । (अहिले त्यो केन्द्र पनि भत्किंदै छ) परिणामस्वरूप एसिया, अफ्रिका र ल्याटिन अमेरिकका मानिसहरू आफ्नो स्वत्व गुमाउँदै छन् । संसारको वैभव त्यतै केन्द्रित छ । त्यस्तो प्रवृत्ति विशेषतः युवा वर्गमा तीव्र छ । ज्ञान नभए पनि अङ्ग्रेजी लवज, शब्द, शैली र धर्मको नक्कल आधुनिकताको प्रतीक भएको छ । आफ्नो परम्परा, संस्कृति र सभ्यतामा गौरव र स्वाभिमान बोध गर्ने तथा आत्मसम्मान र आत्मशक्तिमाथि विश्वास नगरेर पश्चिमको (हलिवुड, बलिवुड इत्यादि) अन्धानुकरण गर्नु सर्वथा गलत हो । अरुका ढोकामा त बँधुवा भएर, भिखारी भएर गइन्छ । तेस्रो विश्वका युवाहरूको त्यसै कमजोरीबाट फाइदा उठाएर र यिनले अर्थेतर केही छैन भन्ने ठानेकाले त्यताका क्रिश्चियन, नन, पादरीहरू आफ्नो धर्म र संस्कृति विश्वभर लाद्ने हरसम्भव सङ्गठित कोशिष गरिरहेका छन् ।
त्यसै पश्चिमी मुलुकमा यतिखेर जातीय रक्षाका लागि सङ्घर्षहरू भइरहेका छन् । उत्तरका आइरिशहरू, मध्यपूर्वका कूर्दहरू र प्यालेस्टाइनीहरू वर्षाैंदेखि सङ्घर्षरत छन् । हाम्रै आङ्को स्पर्श गर्ने गरी दार्जिलिङ् र भुटानी नेपाली भाषीहरू आफ्नो भूमि र स्वाभिमान गुम्न लागेकामा निकै व्यथित छन् र निरन्तर छटपटाउँदै सङ्घर्षरत छन्, भुटानीहरूलाई साम्राज्यवादले मुख बन्द नै गरिदिएको छ । उनीहरूले र पूर्वी भारतका सात राज्यका बासिन्दाहरूले अब प्यालेस्टाइन र कुर्दहरूले झैं हतियार उठाउनु पर्ने बाध्यता आइपरेको छ । नेपालभित्रै कतै नेपालीहरूले आफ्नोपन केलाएर खोज्नु पर्ने समय त आइपर्ने होइन ? सुदूर भविष्यको झलक अहिले नै देख्न सक्नुपर्छ र सम्भाव्य विनाशलाई छेक्न तयार हुनुपर्छ । चेतना भया ।।

(डा.ज्ञवाली त्रिभुवन विश्वविद्यालयका सह-प्राध्यापक हुनुहुन्छ । उहाँ नेपाल कम्युनिष्ट पार्टीका नेता पनि हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *