भक्तपुर नगरपालिका-४, भुलाँचामा रहेको संचित बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारणसभा यही शनिबार भक्तपुरको कालाचास्थित शुभकामना पार्टी प्यालेसमा सम्पन्न भयो । त्यस साधारण सभाले पुन: योगेन्द्रबहादुर खर्बुजाको अध्यक्षतामा सञ्चालक समिति र पुजन कर्मचार्यको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरेको छ । उक्त सञ्चालक समितिको उपाध्यक्षमा बालमुकुन्द प्रधान , सचिवमा न्युटनप्रसाद सुवाल र कोषाध्यक्षमा सरस्वती हाकुदुवाल तथा सदस्यमा इन्दिरा प्रजापती , कृष्णसुन्दर सायँजु , न्हुक्षेबहादुर सुवाल , प्रभुकृष्ण श्रेष्ठ र लक्ष्मीप्रसाद कोजु हुनुहुन्छ । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको सदस्यमा रामशरण श्रेष्ठ र शिखर कायस्थ हुनुहुन्छ ।
सोही संस्थाका अध्यक्ष योगेन्द्रबहादुर खर्बुजाको अध्यक्षतामा सम्पन्न सो साधारण सभाको भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले
उद्घाटन गर्नुभयो । उक्त अवसरमा अध्यक्ष लाखाजुले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारीता मानव सभ्यताको आधार भएको बताउदै सहकारीले आफ्ना शेयर सदस्यहरुको भविष्य सुनिश्चतताको लागि बचत गर्न सिकाई आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी कार्य गरिरहेको बताउनुभयो । उहाँले सहकारीको आवश्यकता र महत्वको बारेमा थप प्रकाश पार्दै समुदायमा आधारित रहेर सहकारीको सिद्धान्त, मुल्य र मान्यता अनुरुप सञ्चालन भएका सहकारी संस्थाहरुको वित्तीय अवस्था राम्रो रहेको बताउनुभयो । समुदायमा आधारित रहेर सञ्चालन भइरहेको संचित साकोसले स्थापना भएको छोटो समयमा राम्रो प्रगति गर्न सकेको भन्दै त्यस संस्थाको थप प्रगतिको कामना गर्नुभयो । सहकारी सदस्यहरुद्वारा नियन्त्रित हुनु पर्ने हो तर त्यो खालको वातावरण बनी नसकेकोले बेलाबखत देखिने गरेका एकाध सहकारी संस्थाको खराब क्रियाकलापले सहकारी खराब हो कि क्य हो भन्ने आभाष जनतामा पर्न गएकोले सहकारी अभियान यसप्रति चनाखो हुनु पर्ने उहाँको भनाई थियो । सहकारी साधारण सभामा इतिहासविद प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ , संचित बचत तथा ऋण सहकारी संस्था लि.का सल्लाहकारद्वय विनोदचरण राय र गजेन्द्र शंकर तिमिला लगायतले सो संस्थाले गरेको प्रगतिको प्रशंसा गर्दै यसको उत्तरोतर प्रगतिको कामना गर्नुभयो ।
साधारण सभाको अध्यक्षता गर्दै त्यसै संस्थाका अध्यक्ष खर्बुजाले ‘समुदायमा आधारित रही नियामक निकायहरुको नीति, निर्देशन , सल्लाह र सुझाबलाई पूर्ण रुपमा पालना गरी सञ्चालन भइरहेको हाम्रो यस संचित बचत तथा ऋण सहकारी संस्था लि. आफ्ना शेयर सदस्यहरुलाई प्रविधियुक्त गुणस्तरीय सेवा प्रवाहमा लागेको छ’, भन्नुभयो । उहाँले त्यस संस्थाको गतिविधि र वित्तीय अवस्थाको बारेमा प्रकाश पार्दै हाम्रो यो संस्थाले आफ्ना शेयर सदस्यहरुमा उद्यमशीलताको विकासका लागि बिभिन्न सीपमूलक तालिमको आयोजना गरेको र सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आँखा शिविर , रक्तदान कार्यक्रम जस्ता रचनात्मक सामाजिक क्रियाकलाप सञ्चालन गरेको बताउनुभयो । ‘मेरो संचित- मेरो भविष्य‘ भन्ने नाराका साथ स्थापना भएर अगाडि बढिरहेको यस संस्थाका शेयर सदस्य महानुभावहरु साथ र सहयोग तथा कर्मचारीहरुको लगनशीलता र मेहनतले हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढ्न सफल भएको भन्दै उहाँले त्यसका लागि धन्यबाद ज्ञापन गर्नुभयो ।
त्यै संस्थाकी सञ्चालक इन्दिरा प्रजापतीले सञ्चालन र व्यवस्थापक लक्ष्मीप्रसाद बखाद्योले संयोजन गर्नु भएको त्यस साधारण सभामा उक्त संस्थाका सचिव न्युटनप्रसाद सुवालले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सो संस्थाले आफ्ना शेयर सदस्यहरुको हितलाई मध्यनजर गरी प्रवाह गरेको सेवा र संस्थाले सञ्चालन गरेको क्रियाकलापको बारेमा प्रकाश पार्नुभयो । यसैगरी साधारण सभामा त्यसै संस्थाका कोषाध्यक्ष सरस्वती हाकुदुवालले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका सदस्य रामशरण श्रेष्ठले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । शेयर सदस्यहरु बीच छलफल सम्पन्न भएपछि साधारण सभाले ती प्रतिवेदनहरु पारित गरेको थियो । साधारण सभाबाट पारित भएका प्रतिवेदनमा आर्थिक वर्ष २०७८/०७९ को अन्तसम्ममा शेयर सदस्य संख्या २,९१८, शेयर पूँजी रु.२ करोड ६० लाख , निक्षेप संकलन रु.४६ करोड ७१ लाख , कर्जा लगानी रु.५३ करोड ३६ लाख र कूल कारोवार रु.६७ करोड २३ लाख रहेको उल्लेख छ ।
सोही साधारण सभाको आवसरमा स्वास्थ्यकर्मीहरुबाट त्यस संस्थाका शेयर सदस्य , कर्मचारीहरु लगायतको स्वास्थ्य परीक्षण पनि गरिएको थियो ।