बरिष्ठ समाजसेवी प्रकाश कँडेलको ७१ वर्षको उमेरमा आज विहान ४:३० बजे उपचारको क्रममा काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा निधन भयो । विरामी भएपछि गत महिना स्वास्थ्य जाँचका लागि नयाँ दिल्ली पुगेका कँडेललाई त्यहाँ कलेजोको क्यान्सर र कमलपित्त भएको पत्ता लागेको पारिवारिक श्रोतले जनाएको छ । उहाँको पछिल्लो पटक १ हप्ता अगाडिदेखि त्रिभुवन विश्वविद्यालय ,शिक्षण अस्पतालमा उपचार भइरहेको थियो ।
लोकतान्त्रिक योद्धाको समेत छवि बनाएका कँडेलले आफ्नो शरीर मेडिकल साइन्सका विद्यार्थीहरुको अध्ययनका लागि त्रिभुवन विश्वविद्यालय , शिक्षण अस्पताललाई दान दिएकाले परिवारले उहाँको पार्थिव शरीर सोही अस्पतालको शिक्षण कलेजलाई हस्तान्तरण गरेको छ । उहाँको पार्थिव शरीर बुझ्दै डाक्टर ज्योति गौतमले दिवंगत कँडेलका परिवारलाई धन्यबाद ज्ञापन गर्नुभयो । डाक्टर गौतमले दिवंगत कँडेलको चाहना अनुरुप उहाँको पार्थिव शरीर मेडिकल साइन्सको पढाईमा उपयोगी हुने बताउनुभयो । त्यस अघि दिवंगत कँडेलको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि त्रि.वि., शिक्षण अस्पताल परिसरमा राखिएको थियो । परिवारका सदस्य लगायतले उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।
वि.सं.२००८ सालमा संखुवा सभाको चैनपुरमा जन्मिएका बरिष्ठ समाजसेवी कँडेलले संखुवासभा , काभ्रेपलाञ्चोक र दोलखाका हजारौं आर्थिक विपन्नहरुको स्वास्थ्य उपचारमा विशेष सहयोग पु-याउनुभएको थियो , जसका कारण धेरै जनाले नयाँ जीवन पाएका थिए ।
मिलनसार र मृदुभाषी कँडेलको निधनमा संखुवासभाको चैनपुरबासी लगायतले शोक प्रकट गरिरहेका छन् । उहाँको निधनमा नेपाली कांग्रेसका नेता तथा संविधान सभा सदस्य एवं पूर्व राज्यमन्त्री दीपक खड्का , नेकपा (एमाले) स्थायी समिति सदस्य तथा नि:बर्तमान सांसद राजेन्द्र गौतम लगायतले दु:ख व्यक्त गर्दै शोक प्रकट गरेका छन् ।
ललितपुरको सानेपामा बसोबास गर्दै आउनुभएका दिवंगत कँडेलका श्रीमती र एक छोरी हुनुहुन्छ ।