आउदो मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुन लागिरहेको बेला काठमाडौं उपत्यका भित्रका बागमती र त्यसका अरु सहायक नदी/ खोलाको छेउछाउमा घर/टहरा बनाएर बसोबास गरिरहेका भूमिहीन सुकुम्बासीहरु यतिबेला आन्दोलित छन् । गत शुक्रबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले १० दिन भित्र बागमती र त्यसका सहायक नदी/ खोलाहरुको छेउछाउका घर/टहरा तथा निर्माण सामाग्री हटाउनु हुन र सो समय भित्र ती संरचना नहटाए आफैले हटाउने भनी सूचना
जारी गरेपछि त्यसको विरोध भइरहेको छ । त्यस विरुद्ध बिहीबार उनीहरुले काठमाडौंको माइतीघरबाट नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका थिए । विरोध जुलुस नयाँबानेश्वरमा पुगेर विरोध सभामा परिणत भएपछि त्यहाँ बोल्ने बक्ताहरुले आफूहरु त्यहाँ रहरले नभई बाध्यताले बसोबास गर्दै आएकोले विना विकल्प आफ्ना बास नहटाउन सरकारको ध्यानाकर्षण गरेका थिए ।
बागमती र त्यसका सहायक नदी/ खोला किनारा आसपासमा बसोबास गर्नेहरुको संख्या ठूलो भएकाले सबैसजो राजनीतिक दलहरुले ती बस्तीहरुमा मत माग्न आफूलाई केन्द्रित गरेका थिए । नेकपा (एमाले) , नेपाली कांग्रेस लगायतका राजनीतिक दलहरुका नेता कार्यकर्ताहरुले भूमिहीन सुकुम्बासीहरुको बास उठाउने कार्यको विपक्षमा रहेको बताउदै आएका छन् । तिनै राजनीतिक दलहरुसँग सामिप्य रहेका भूमिहीन तथा सुकुम्बासी संगठनलेहरुले बिहीबारको विरोध प्रदर्शनको अगुवाई गरेका थिए । नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले सुकुम्बासीको घर/ टहरा हटाउने नभई उनीहरुको स्थानान्तरण हुनु पर्ने बताउनुहुन्छ ।
कतिपय जानकारहरु भने बागमती तथा त्यसका सहायक नदी/खोलाहरुको किनारामा घर/टहरा बनाएर बसोबास गर्दै आएका सुकुम्बासीहरु मध्ये कतिपय सुकुम्बासीको आवरणमा अन्यत्र घरजग्गा र अन्य पेशा व्यवसायमा आवद्ध मानिसहरु पनि रहेको र तिनीहरुमध्ये कतिपयले खोला किनाराको जग्गा कब्जा गरी घर/ टहरा बनाएर भाडामा लगाउने , त्यहाँका जग्गामा स्थानीय क्लव या सामाजिक संघ/ संस्थाको आवरणमा पैसा लिएर बाहिरका मानिसहरुलाई टहरा बनाएर बस्न दिने गरेको पाइएको बताउछन् ।
यता ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता रत्नप्रसाद जोशी भने बागमती र त्यसका सहायक नदी/ खोलाहरुको आसपासमा बसोबास गरिरहेका वास्तविक सबै भूमिहीन सुकुम्बासीको नेपाल सरकारले उचित व्यवस्थापन गर्नु पर्ने बताउनुभएको छ । काठमाडौं महानगरपालिका वडा नं.४ का भूतपूर्व वडाध्यक्ष समेत रहनुभएका जोशीले अलगपथसँग संक्षिप्त कुरा गर्दै ‘बागमती र त्यसका सहायक नदी/खोलाहरुको वातावरणीय सौन्दर्यकरणका लागि सबैको साथ र सहयोग आवश्यक छ’, भन्नुभयो ।