नेपालमा श्रृङ्खलाबद्ध सवारी दुर्घटना कहिलेसम्म ?

नेपालमा सवारी दुर्घटना हुने क्रम जारी छ । यसैक्रममा गत सोमबार जाजरकोटको छेडागाडमा जीप दुर्घटना भएर छेडागाडका ९ र दैलेखको भगवतीमाई गाउँपालिकाका ३ गरी १२ जनाको ज्यान गएको र यसका कारण ५ बालबालिकाले अभिभावक गुमाएका छन् । यो घटनाको शोकमा मंगलबार साँझ काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका -४, जलला गणेशथानमा ब्रतबन्धमा सहभागीहरुलाई लिएर च्याल्टीबाट बनेपा जादै गरेको बा. ३ ख , ४३८५ नं.का बस दुर्घटनाले थप पीडा थपिएको छ , जसमा परी १७ जनाको ज्यान गयो भने २२ जना घाइते भए । यसका कारण बुधबार पनि काभ्रेपलाञ्चोकको बेथानचोक लगायतका स्थान शोकमा डुब्न पुग्यो ।

यी मात्रै होइन , नेपालमा हरेक दिनजसो कुनै न कुनै सवारी दुर्घटना भएर मानिसहरुको ज्यान जाने र घाइते हुने क्रम भइरहेको छ तर कथनी जे जे भएपनि कथनी अनुरुपको करनी नहुदा सवारी दुर्घटनामा २० को १९ भएको महशुस हुन सकेको छैन । दुर्घटनाको समाचार सञ्चार माध्यममा प्रकाशन/ प्रशारण हुञ्जेल त्यसबारेमा चर्चा परिचर्चा हुने गरेपनि त्यसपछि त्यो त्यत्तिकै सेलाएर जाने क्रम जारी नै छ ।

सवारी साधनको अवस्था कस्तो छ भनेर चलाउने बेलामा राम्रोसँग जाचबुझ नगरी हचुवाका भरमा चलाउने , चालकले सवारी साधन चलाउदा मोवाइलमा कुरा गर्ने , ग्रामिण क्षेत्र ट्राफिक प्रहरीको उपस्थिति न्युन रहने हुँदा सार्वजनिक सवारी धनी र सवारी चालकले सवारी साधनको क्षमता ख्याल नगरी पैसाको लोभमा सवारी साधनमा क्षमताभन्दा बढी जथाभावी मान्छे चढाउने , ट्राफिक प्रहरीको आँखा छलेर ट्राफिक नियम मिच्ने र कतिपय ट्राफिक प्रहरीले सवारी धनीबाट अनुचित ढंगले पैसा लिएर तिनका सवारी साधनको राम्रोसँग जाचबुझ नगर्ने , धेरैजसो सवारी चालक र अरु मानिसहरुमा ट्राफिक सचेतनाको अभाव , एकाध ठाउँमा बाहेक अन्यत्र कतै कतैपनि सवारी साधन सञ्चालनमा टाइम कार्डको लागु नहुनु आदि जस्ता कारणले सवारी दुर्घटना हुने गरेको पाइन्छ तर सरोकारवाला पक्ष भने यो विषयमा मौन देखिन्छ । सवारी दुर्घटनाबाट पीडित बनेकाहरु भन्छन् -नेपालमा यस्ता श्रुङ्खलाबद्ध सवारी दुर्घटना कहिलेसम्म ? राज्यले सवारी दुर्घटना नियन्त्रण गर्ने गरी प्रभावकारी कार्य गर्नु पर्ने सरोकारवालाहरुको जोड छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *